क्यारेबियन प्रिमियर लिगमा सन्दीपको जादू कायमै

क्यारेबियन प्रिमियर लिगमा सन्दीपको जादू कायमै


क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएलमा जादूमयी प्रदर्शन गरेका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलिरहेका सन्दीपले जमाइका तल्लावाजविरुद्ध बिहिबार २ विकेट लिए । उनले दुवै विकेट एकै ओभरमा लिएका हुन् ।

सन्दीपले ४ ओभरमा २१ रन खर्चेका थिए । सन्दीपले ओपनर केनर लेविस २३ बलमा ४९ रनको आक्रमक इनिङ्स खेलिरहँदा कुपरको हातबाट क्याच आउट गराए । त्यसको दुई बलमै उनले आन्द्रे मकार्थीलाई क्लिन बोल्ड गरे ।

अन्य बलरले साथ नदिँदा सन्दीपको मात्र योगदान देखियो । जमाइकाले २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनायो । जवाफमा प्याट्रियट्सले ९ विकेट गुमाउँदै १३१ रनमात्र बनाउन सक्यो । कप्तान तथा ओपनर क्रिस गेलले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

सन्दीपको टिम ४७ रनले पराजित भयो । सन्दीपले प्रतियोगिताको तीन खेलमा ५ विकेट लिइसकेका छन् ।