स्वतन्त्रता दिवसको अवसरमा रेडक्रसलाई एम्बुलेन्स, विद्यालयलाई बस

स्वतन्त्रता दिवसको अवसरमा रेडक्रसलाई एम्बुलेन्स, विद्यालयलाई बस


७२औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् ।

एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको जानकारी दिँदै उनले यसबाट विपद् व्यवस्थापनमा सहयोग मिल्ने भन्दै खुशी व्यक्त गरे ।

उनकाअनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक-एक थान एम्बुलेन्स प्रदान गरिएको बताइएको छ ।