मध्यरातमा धोबीखोला बस्तीमा पसेपछि…

मध्यरातमा धोबीखोला बस्तीमा पसेपछि…


गएराति परेको अविरल वर्षाका कारण काठमाडौंका बागमती, धोबीखोला, विष्णुमती आसपासका बस्ती डुबानमा परेका छन् । मध्यरातमा सुतिरहेको अवस्थामा धोबीखोला बस्तीमा पस्दा धोबीखोला आसपासका सुकुम्बासी बस्ती मात्र होइन, अनामनगरदेखि बिजुलीबजारसम्मका ठूला घरधनी पनि नराम्रोसँग प्रभावित भएका छन् । धोबीखोलाको पानी बस्तीमा पसेपछि लाखौँको क्षति भएको पीडितले बताएका छन् ।

खोला किनारमा रहेका घर, पसल, कलेज, स्कुल, कार्यालयमा पानीसहित लेदोमाटो पसेपछि सो क्षेत्रका बासिन्दा रातभर निदाउन सकेनन् ।

बुधबार बिहान बाढी घटेपछि स्थानीयहरू आआफ्नै तरिकाले घरभित्र पसेको पानी र लेदोमाटो निकाल्न व्यस्त देखिन्थे ।

बिजुली बजारमा बन्दै गरेको पुलका कारण पानी थुनिएर बस्तीमा पसेको स्थानीयको आरोप छ । पुल निर्माणमा प्रयोग गरिएका डण्डीमा बाढीले बगाएर ल्याएका विभिन्न वस्तु अड्किएपछि पानी थुनिएर बस्तीमा पसेको उनीहरूको भनाइ छ ।

यसरी खोलाको पानी थुनिएपछि खोलाबाट बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा समेत बाढी पसेको थियो ।

डुबानबाट अनामनगर, देवीनगर, बिजुली बजार र आसपासका क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । साना गल्लीहरूमा बाढीको लेदो पसेपछि आवागमनमा समस्या बनेको छ ।

आज बिहानै डुबान प्रभावित क्षेत्रको काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले निरीक्षण गरेका छन् । सिंहले पीडितसँग डुबानको अवस्थाबारे जानकारी लिए ।

उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाकी उपप्रमुखलगायतलाई टेलिफोन गरी डुबान पीडितको समस्याबारे जानकारी गराउँदै समस्याको दीर्घकालीन समाधान खोज्न र पीडितलाई उद्धार तथा राहतको तत्काल व्यवस्था मिलाउन उनीहरूको ध्यानाकर्षण पनि गराए ।