कहिलेसम्म क्रान्ति ?

कहिलेसम्म क्रान्ति ?


– बबिता बस्नेत

यही ०७५ साल असारको तेस्रो हप्ता कालिकोट पुगेका बेला स्थानीय धेरैले आफ्ना नेताको रूपमा ‘प्रकाण्ड’को नाम लिए । कालिकोटका नेता महेन्द्रबहादुर शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री भएका कारण उहाँकै बारेमा बढी चर्चा–परिचर्चा होला भन्ने ठानिएको थियो । तर, त्यस्तो रहेनछ । के रहेछ विशेषता जसका कारण सत्तामा रहेकाभन्दा विद्रोही नेताको बढी नाम आइरहेको छ । बुझ्दै जाँदा कालिकोटका गाउँगाउँमा नेकपा माओवादी (विप्लव) समूहबाट जनसरकार र जनअदालत गठन भई कामकारबाहीहरू अघि बढिरहेका रहेछन् । गाउँमा जाँडरक्सी निषेध अभियान चलाइएको रहेछ । बालविवाह, बहुविवाहलगायतका विकृति हटाउन गाउँगाउँमा कार्यकर्ता परिचालन गरिएको रहेछ । खुलालुदेखि मालकोटसम्मको बाटो जनश्रमदानमा निर्माण गरिँदै रहेछ ।

स्थानीयले नाम लिँदा ‘प्रकाण्ड’मात्रै भने, खड्गबहादुर विश्वकर्मा भनेनन् । तत्कालीन नेकपा माओवादीबाट संविधानसभाको चुनावमा निर्वाचित भएर पर्यटन र महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीसमेत भइसकेका हुनाले यो पङ्क्तिकारलाई नेता खड्गबहादुर विश्वकर्मालाई चिन्न गाह्रो थिएन । नेता प्रचण्ड बाबुरामहरूबाट छुटेर गएपछिको क्रियाकलापबारे भने त्यति थाहा थिएन । कालिकोटमा विद्रोही गाथा सुनेपछि मनमा अनेक प्रश्नहरूले ठाउँ लिए– हाम्रो मुलुक समृद्धितिर जाँदै छ कि क्रान्तितिर ? यत्तिका वर्ष लगाएर गरिएको शान्तिप्रक्रिया सोचेजस्तो गरी नटुङ्गिँदै फेरि यो मुलुकमा के हुँदै छ ? मुलुकमा द्वन्द्व सकिएको छैन ? के फेरि अर्को क्रान्ति हुँदै छ ?

कालिकोटमा उब्जिएका प्रश्नको जवाफको खोजी नगर्दै फेरि बाँके, बर्दियालगायत केही जिल्लाहरूमा पुगेँ । दशवर्षे माओवादी युद्धका बेला बेपत्ता परिवारका सदस्यहरूसँग भएको भेटघाटले प्रश्नहरू थपिदियो । उनीहरूको प्रश्न छ, ‘यत्तिका वर्ष भयो, हामीले युद्धको बेला हराएका आफन्तको बारेमा कुनै जानकारी पाएका छैनौँ । मारिएका नै हुन् भने कसले, कहिले, कहाँ, किन र कसरी मा¥यो जानकारी पाउनुपर्ने होइन र ? जानकारी पाए काजकिरिया गर्ने थियौँ । जसका लागि लडियो ती नेताहरूको हँसिलो अनुहार टेलिभिजनमा हेर्दा हाम्रा आँखाबाट पीडाका आँसु झर्छन् । के न्यायबिनाको शान्ति दिगो हुन्छ ?’

दशवर्षे क्रान्ति सफल भएको ठान्नेहरू सत्तामा पुगे पनि क्रान्ति सफल भएको छैन भन्नेहरूको ठूलो जमात सडकमा छ । अहिले राज्यले नेकपा माओवादी विप्लव समूहका नेता, कार्यकर्तालाई जसरी धमाधम पक्राउ गरिरहेको छ त्यसबाट समस्याको समाधान होला जस्तो देखिँदैन ।

आफ्ना बाबु हराउँदा भर्खर स्कुल जाँदै गरेका बालबालिका अहिले युवा भएका छन् । उनीहरूका यस्ता प्रश्नले जोकोहीको मन छुन्छ, तर सर्वसाधारणको हैसियतमा गर्न सकिने केही देखिँदैन । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा दर्ता भएका मुलुकभरिका ६३ हजार ७ वटा द्वन्द्वकालका घटनाको छिनोफानो भएको छैन । यता बेपत्ता आयोगमा दर्ता भएका ३ हजार १ सय ८३ उजुरीहरू पनि निक्र्योलमा पुग्न सकेका छैनन् । परिवारले युद्धकालमा हराएका आफन्तहरू आउलान् कि भन्ने आस मारेका छैनन् । आफ्ना सन्तानको बाटो हेर्दाहेर्दै कति बाबुआमा त यो संसारबाट बिदा पनि भइसके । अयोग्यको ट्याग लगाइएका पूर्वलडाकुको कथाव्यथा सुन्न लेनिन विष्ट र उनका सहयात्रीलाई भेट्नुपर्छ । प्रचण्डहरूभित्रै पनि केही नेताले सुखसुविधा भोग्न पाए पनि धेरै नेता–कार्यकर्ताहरू चरम असन्तुष्टिबाट गुज्रिरहेका छन् ।

‘मुलुकमा प्रतिक्रान्ति हुने सम्भावना प्रबल छ’ भनेर तत्कालीन माओवादी नेता प्रचण्ड र बाबुरामहरूले पटकपटक भाषण गरे पनि अहिलेको अवस्था हेर्दा यो देशमा प्रतिक्रान्ति होइन, क्रान्तिले नै निरन्तरता पाउने सम्भावनालाई नकार्न सक्ने अवस्था छैन । दशवर्षे क्रान्ति सफल भएको ठान्नेहरू सत्तामा पुगे पनि क्रान्ति सफल भएको छैन भन्नेहरूको ठूलो जमात सडकमा छ । अहिले राज्यले नेकपा माओवादी विप्लव समूहका नेता, कार्यकर्तालाई जसरी धमाधम पक्राउ गरिरहेको छ त्यसबाट समस्याको समाधान होला जस्तो देखिँदैन । हिजो ७० जनाको समूहबाट शुरु भएको माओवादीले त्यो रूप लियो । मुलुकले माओवादी आन्दोलनका नाममा के–कस्तो मूल्य चुकायो सर्वविदितै छ ।

हिजोको माओवादी र आजको माओवादीबीच सुरुवातताकालाई लिएर हेर्ने हो भने ठूलो अन्तर छ । हिजोका माओवादीहरूसँग युद्धको अनुभव थिएन, अहिलेकाहरूसँग छ । हतियार चलाउनदेखि जनसरकार या जनअदालतसम्मको विगतको अनुभवलाई उनीहरूले जस्ताको तस्तै या परिमार्जित रूपमा प्रयोग गर्न सक्छन् । नेताहरूले धोखा दिएर क्रान्ति अधुरो तुल्याइएकोले आफूहरूले फेरि सोही काम गर्नुपरेको भनी सर्वसाधारणलाई सहमत गराउन र साथ लिन उनीहरूसँग एजेन्डा छ । आफूहरूले जनताको लागि काम गर्न चाहेको, तर नेताहरूले आफूकेन्द्रित भएर के गरे, के गरेनन् भनी दिनलाई उनीहरूसँग उदाहरणहरूको फेहरिस्त छ ।

हिजोको माओवादी र आजको माओवादीबीच सुरुवातताकालाई लिएर हेर्ने हो भने ठूलो अन्तर छ । हिजोका माओवादीहरूसँग युद्धको अनुभव थिएन, अहिलेकाहरूसँग छ । हतियार चलाउनदेखि जनसरकार या जनअदालतसम्मको विगतको अनुभवलाई उनीहरूले जस्ताको तस्तै या परिमार्जित रूपमा प्रयोग गर्न सक्छन् ।

कालिकोटमा चर्चाको केन्द्रमा रहेका तिनै नेता प्रकाण्डलगायतलाई अहिले प्रहरीले पक्राउ गरेको छ । जसको विरोधमा जिल्लाका सबै दलका नेता एक भएर रिहाइको माग गरेका छन् । क्रान्तिका लागि भनी अघि सरेको यो समूहलाई अहिले जसरी दमन गर्न खोजिएको छ, यसबाट समस्याको समाधान हुँदैन । यदि पक्राउ गर्नु या जेल हाल्नु नै समस्याको समाधान हुँदो हो त हिजो माओवादीको नाममा टाउकोको मूल्य नै तोकिएको थियो । माओवादी दबाउन रोल्पा, रुकुममा गरिएको किलो सेरा टु, रोमियोजस्ता अप्रेसनहरू माओवादी युद्धको रापमा घिउ थप्न सफल भएका थिए । रोचक पक्ष त के छ भने हिजो दमन भोग्ने र दमनको विरोध गर्नेहरू आज सत्तामा छन् । दमनको परिणाम केसम्म हुन सक्छ भन्ने कुराको अनुभव उनीहरूसँग हुनुपर्छ ।

हिजो जे–जे मुद्दाहरू अघि सारेर माओवादी आन्दोलन गरिएको थियो आज पनि तिनै मुद्दाहरू अगाडि छन् । फरक के छ भने हिजो उनीहरू राजनीतिक परिवर्तनमा केन्द्रित थिए, अहिलेको समूहले राष्ट्रियता र भ्रष्टाचारलाई समेत प्रमुख मुद्दाको रूपमा समेटेको छ । कुनै पनि प्रकारको विद्रोहलाई पक्राउ या धरपकडबाट दबाउन सकिँदैन भन्ने कुराको साक्षी विगतका अनेक आन्दोलनहरू छन् । सबैभन्दा जल्दोबल्दो उदाहरण त विगतको माओवादी सशस्त्र युद्ध नै हो । सुरुमै वार्ता र संवादमा तत्कालीन सरकार गएको भए शायद यत्तिका क्षति व्यहोर्नुपर्ने थिएन । मुलुकमा राजनीतिक स्थिरताको अपेक्षा गरिएको बेला आएका यसप्रकारका असन्तुष्ट समूहसँग संवाद गर्नुको विकल्प देखिँदैन । अहिले सरकारले विप्लब समूहमाथि जुन प्रकारको व्यवहार गर्दै छ यसले समस्या सुल्झाउँछ कि बल्झाउँछ गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ ।