सांसद भन्छन्– बलात्कारीलाई कारबाही होस्

सांसद भन्छन्– बलात्कारीलाई कारबाही होस्


राष्ट्रिय सभाको आज (मंगलबार)को बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारबाही नभएकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले विद्यमान कानुनले मात्रै बलात्कारीलाई कारबाही हुन नसकेकाले थप कडा कानुन ल्याउन सांसदहरूले आग्रह गरेका हुन् ।

सांसद अनिता देवकोटाले देशको शान्तिसुरक्षामा व्यवधान खडा भएको, बलात्कारजन्य घटना बढ्दो क्रममा रहेको भन्दै महिलाको बाँच्न पाउने अधिकारको हक सुरक्षित गरी त्यस्ता मुद्दाको छिटो निरोपण हुने गरी टुंग्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बलरामप्रसाद बाँस्कोटाले कञ्चनपुरलगायत स्थानमा भएका बलात्कारका घटनामा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

सांसद सिंहबहादुर विश्वकर्माले पछिल्लो समयमा प्रदर्शन भएको एक चलचित्रमा वादी समुदायको इज्जत र प्रतिष्ठामा आँच आउने विषयवस्तु उठान गरिएकाले त्यस्ता चलचित्र प्रदर्शनीमा रोक लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद राजकुमार कुँवरले विभिन्न परिवर्तनकामी आन्दोलनका क्रममा घाइते, अंगभंग भई उपचारविहीनलाई औषधोपचार तथा आर्थिक सहायताका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।