क्रान्तिकारी र देशभक्त सखाप पार्न सरकार उद्यत् रहेको विप्लवको आरोप

क्रान्तिकारी र देशभक्त सखाप पार्न सरकार उद्यत् रहेको विप्लवको आरोप


नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले देशका क्रान्तिकारी र देशभक्तहरूलाई देशीविदेशी प्रतिक्रियावादीहरूको निर्देशन एवम् इसारामा केपी सरकारले सखाप पार्ने योजना बुनेको आरोप लगाएका छन् । आफ्नो पार्टीका प्रवक्ता प्रकाण्डलगायतका नेता–कार्यकर्ताहरूको गिरफ्तारी यसैको उदाहरण भएको विप्लवको तर्क छ ।

नेकपाको आह्वानमा आज भएको नेपाल बन्दको सन्दर्भमा नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मसमर्पण गर्न पुगेका तथा वामपन्थी खोल ओढेका केपी–प्रचण्डहरूले देश र जनतालाई दिनदिनै बर्बाद गरिराखेका छन् ।’

उनले विज्ञप्तिमा अगाडि भनेका छन्– ‘आज हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरू टेकबहादुर केसी, देवनारायण शाहलगायतका जिम्मेवार नेता–कार्यकर्ताहरूलाई केपी–पिके सरकारले विशुद्ध राजनैतिक आस्थाका कारण पूर्वाग्रह साधेर गिरफ्तार गरी अमानवीय यातना दिएपछि त्यसका विरुद्ध बाध्य भएर आन्दोलन घोषणा गरिएको थियो । यही क्रममा आज साउन २९ गतेका दिन नेपाल बन्दको घोषणा गरिएको थियो ।’

‘कमरेड प्रकाण्डलगायतका जति पनि नेता–कार्यकर्ता अहिले गिरफ्तार गरिएका छन्, ती सबै केपी–पीकेहरूले भन्दै गरेको संघीय संविधानकोविपरीत रहेको उनीहरूले गरेका रवैयाले पुष्टि गरेको छ । अहिले हाम्रा कमरेडको गिरफ्तारीलाई लिएर चौतर्फी विरोध भैराखेको छ । यसरी विरोध गर्ने संघ–संस्था, विशिष्ट व्यक्तिहरुप्रति हामी धन्यवाद दिन चाहन्छौँ । यो सामाजिक फासीवादी सरकार गठन भएदेखि नै नेपालका क्रान्तिकारी शक्तिमाथि एकोहोरो दमन चलाइराखेको छ । यो कुरा देशका देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरुले बुभन ढिलो गर्नु हुँदैन ।’

दिनप्रतिदिन सरकार फासिस्ट र निरंकुश बन्दै गएको भन्दै विप्लवले यो सरकार र मुल रुपमा संसदीय व्यवस्थाकाविरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न पनि जरुरी भैसकेको उल्लेख गरेका छन् ।

आफ्नो पार्टीले आह्वान गरेको नेपाल बन्दलाई समर्थन गर्दै वक्तव्य निकाल्ने सबै राजनैतिक शक्ति, सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने, वामपन्थी, देशभक्त र प्रगतिशिल शक्ति एवम् तमाम जनताप्रति उनले विज्ञप्तिमार्फत कृतज्ञता ज्ञापन गरेका छन् ।