हत्याआरोपि अभिरामपछि रामशंकर अदालतमा हाजिर

हत्याआरोपि अभिरामपछि रामशंकर अदालतमा हाजिर


सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । सोही मुद्दाका अर्का राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आजै अदालतमा हाजिर भएका छन् । अभियुक्त दुवैजना आफै निवेदन लिएर अदालतमा हाजिर भएका अदालतका स्रेस्तेदार रामानन्द अधिकारीले जानकारी दिए ।

महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।

उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर हाजिर भएका हुन्। आफैँ हाजिर भएका प्रमुख मिश्र र सहमहामन्त्री पाण्डेलाई अदालतले थुनछेकको बहस चलाइएको बुझिएको छ ।

यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर भएका थिए भने उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।