बस्न योग्य शहरको सूचीमा भियना र बस्न अयोग्यमा दमास्कस पहिलो

बस्न योग्य शहरको सूचीमा भियना र बस्न अयोग्यमा दमास्कस पहिलो


यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अस्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात् सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रूपमा प्रकाशित हँुदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो ।

प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक, दुई, तीन गरी अंकित गरिएको छ । प्रथम स्थानमा ९९.१ अंक प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ । अस्ट्रेलियाको मेलबोर्नले ९८.४ अंक प्राप्त गरी दोस्रो स्थानमा परेको छ । मेलबोर्न विगत सात वर्षदेखि लगातार पहिलो स्थानमा रहँदै आएको थियो । तेस्रो स्थानमा जापानको ओसाका सहर परेको छ ।

क्यानडाको क्यालगरी चौथो स्थानमा, अस्ट्रेलियाको सिड्नी पाँचौँ स्थानमा, क्यानडाकै भ्यानकोभर र टोरन्टो क्रमशः छैटौँ र सातौँ स्थानमा, जापानको टोकियो आठौँ, डेनमार्कको कोपनहेगन नवौँ र अस्टे«लियाको एडिलेड दशौँ स्थानमा परेका छन् । उत्कृष्ट १० स्थानमा परेका यी शहरलाई हेर्दा अस्ट्रेलिया र क्यानडामा तीन–तीन शहरहरू परेका छन् ।

भिएना अस्ट्रेलियाको मेलबोर्न शहरलाई पछि पार्दै पहिलो नम्बरमा आएको छ । भिएनामा अपराधमा कमी आएको, यातायातको सुविधा, शिक्षा र स्वास्थ्य सुविधाजस्ता कुरालगायत राजनीतिक स्थायित्वको कारण पनि बस्नलायक शहरको पहिलो स्थानमा परेको बताइएको छ ।


दमास्कस शहर
बस्न अयोग्य शहरको सूचीमा पहिलो नम्बरमा सिरियाको राजधानी दमास्कस रहेको छ । यस्तै बंगलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराची र पपुवान्युगिनीको पोर्ट मोरेस्बी पनि बस्न अयोग्यको सूचीमा रहेका छन् । पाँच वर्षयता अबिद्जान, हनोई, बेलग्रेड र तेहरान सहरले भने विकासको फड्को मारेका छन् ।