नैकाप र नयाँपाटीमा राखिएका बम सेनाद्वारा निष्क्रिय

नैकाप र नयाँपाटीमा राखिएका बम सेनाद्वारा निष्क्रिय


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको आजको बन्दमा देशका विभिन्न स्थानमा छिटफुट घटना भएका छन् । यसैक्रममा झापाको गौरादहमा बम विस्फोटभएको छ भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बम फेला परेका छन् ।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौं महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको बताउँदै बम लिएर हिँडेका दुईजनालाई जमलबाट नियन्त्रणमा लिएको जानकारी दिए । जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि आज बिहान भक्तपुरका विभिन्न स्थानमा बम फेला परेको थियो । शान्तिसुरक्षाका लागि प्रहरी गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।