बन्दको प्रभाव देशैभर, ठाउँ-ठाउँमा विष्फोट र आगजनी

बन्दको प्रभाव देशैभर, ठाउँ-ठाउँमा विष्फोट र आगजनी


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको दिन आज मुलुकभर बन्दको प्रभाव देखिएको छ । उक्त पार्टीका प्रवक्ता प्रकाण्डसहित विभिन्न नेता एवम् कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको विरोधमा नेकपाले आज नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दका क्रममा विभिन्न स्थानमा बम विष्फोटका घटना भएका छन् भने काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पनि शक्तिशाली बम भेटिएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सिप्रदी ट्रेडिङमा शंकास्पद वस्तु भेटिएको छ । उक्त बस्तु बम भएको स्थानीयको भनाईपछि नेपाली सेनाको बम डिस्पोजल टोली सो स्थानमा पुगेको बताइएको छ । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला परेका छन् ।

देशको उद्योगधन्दा, शिक्षणसंस्था, कलकारखानादेखि यातायात क्षेत्र सबैमा बन्दको प्रभाव परेको दाबी सो पार्टीले गरेको छ । बन्दको अटेर गरेर गाडी संचालन गर्नेहरूमाथि बन्दकर्ताहरूबाट आक्रमणण भएका घटना पनि प्रकाशमा आएका छन् ।

जाजरकोट, झापा, पाल्पालगायतका जिल्लामा बिहानै शक्तिशाली बम विस्फोट भएका छन् भने बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ । नवलपुरको गैंडाकोटमा दुईवटा ट्रकमा आगजनी भएको हो । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी भएको बुझिएको छ ।

बन्दकर्ताले मकवानपुरको टिष्टुङमा स्कुल बसमा पनि आगजनी गरेका छन् । मंगलबार बिहानै बसमा आगजनी गरिएको हो । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।

यसैगरी, पाल्पा, जाजरकोट, झापालगायत जिल्लामा पनि बम विष्फोट गराइएका छन् भने ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलगायतका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै कञ्चनपुरमा पुत्लादहन गरिएको छ । नेकपा कन्चनपुरले प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेको हो । हिजो सोमबार साँझ ७ नम्बर प्रदेश सभाका सांसद प्रकाश रावलको घरअगाडि ओली, दाहाल र थापाको पुत्ला दहन गरिएको नेकपाले जनाएको छ । मशाल जुलुससहित पुत्ला दहन कार्यक्रममा सहभागी भएका नेकपाका कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाएका थिए ।

यता देशभरको सुरक्षा व्यवस्था कडा पारिएको र अहिलेसम्म गम्भीर खालको कुनै पनि घटना नभएको प्रहरीको उच्च निकायले दाबी गरेको छ । काठमाडौं, ललितपुर तथा भक्तपुरका प्रहरी प्रमुखले सुरक्षा व्यवस्था कडा पारिएको तथा बन्दको प्रभाव निकै कम परेको दाबी गरेका हुन् ।