विषयगत समितिका सभापतिको चयन भदौ ५ मा गरिने

विषयगत समितिका सभापतिको चयन भदौ ५ मा गरिने


संघीय प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुको चयन आगामी भदौ ५ गते हुने भएको छ । संसदका दश विषयगत समितिमध्ये सार्वजनिक लेखासमितिबाहेक अन्य समितिका सभापति निर्वाचनको माध्यमबाट चयन गर्न लागिएको हो । लेखासमितिको सभापति प्रतिपक्षलाई दिने परम्परागत अभ्यास पछ्याइन लागेको संसद् सुत्रको भनाई छ ।

सभामुख कृष्णबहादुर महराले आज संसदमा समितिका सभापतिहरुको चयनसम्बन्धी प्रक्रियाको लागि सम्बन्धित पक्षलाई निर्देशन दिँदै भदौ ५ गतेको मिति तय गरेका हुन् ।

कुन संसदीय समितिमा कुन दलका कुन–कुन शीर्ष नेता ?
०७४ फागुन २१ गते सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) दुवै सदनका पहिलो बैठक बसेका थिए । ती दुवै सदनको यही साउन १७ गते बसेको अलग–अलग बैठकले विषयगत समितिमा रहने सांसदहरूको नामावली सर्वसम्मत्तिले अनुमोदन गरेको थियो । यसरी अनुमोदित समितिका सदस्यहरूमा शीर्ष तहका कुन–कुन नेताले कुन–कुन समितिको जिम्मेवारी पाएका छन्, जिज्ञासाकै विषय हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था समितिका सदस्य छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल विकास तथा प्रविधि समितिमा । यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थ समिति सदस्यको जिम्मेवारी पाएका छन् ।

यसैगरी, नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विकास तथा प्राविधिक समिति, कोषाध्यक्ष सीतादेवी यादव कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महामन्त्री डा. शशांक कोइराला र नेता विजयकुमार गच्छदार दुवै अर्थ समितिमा रहेका छन् भने नेकाका पूर्वमहामन्त्री प्रकाशमान सिंह अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका छन् । काङ्ग्रेसकै संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता बालकृष्ण खाण र नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले कानुन, न्याय तथा मानवअधिकार समिति रोजेका छन् ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे पनि अर्थ समितिमा छन् भने पूर्वसभामुख ओनसरी घर्ती कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका छन् ।

उता, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अर्थ समिति, सोही पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र्र महतोले राज्य व्यवस्था तथा सुशासन समितिको जिम्मेवारी पाएका छन् । पूर्वस्वास्थ्यमन्त्रीद्वय उमाकान्त चौधरी, खगराज अधिकारी र गगनकुमार थापा शिक्षा तथा स्वास्थ्य समितिमा रहेका छन् ।

समितिका सभापतिको चयन नहुञ्जेलसम्म समितिमा रहेका सांसद सदस्यमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने अभ्यास रहँदै आएको छ ।