चीनसँग अघिल्लो सरकारले गरेको सम्झौता किन तोड्दैछन् महाथिर ?

चीनसँग अघिल्लो सरकारले गरेको सम्झौता किन तोड्दैछन् महाथिर ?


मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर रहेका बताइएको छ ।

९३ वर्षीय प्रधानमन्त्री महाथिरले रोहिङ्ग्या मुस्लिम समुदायमाथि म्यान्मारले गरेको व्यवहार अन्यायपूर्ण रहेको एसोसिएटेड प्रेससँगको कुराकानीमा बताएका हुन् । तीन महिनाअघि निर्वाचित भएर सत्तामा पुनरागमन गरेका महाथिरले चीन भ्रमणमा जानुअघि यस्तो धारणा सार्वजनिक गरेको सन्दर्भलाई चाखपूर्ण मानिएको छ ।

‘म चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहन्छु र चीनको लगानीलाई पनि स्वागत गर्दछु, तर यस्ता परियोजना मलेसियाका निम्ति हितकर हुनु पर्दछ’, महाथिरको भनाई छ ।

पूर्वप्रधानमन्त्री नजिब रजाकले सम्झौता गरेको चिनीयाँ लगानीको ऊर्जा पाइपलाइन र एउटा रेल परियोजनामाथि महाथिर मोहमदले विशेष ध्यान दिएका छन्। महाथिरको विचारमा यी दुई परियोजना मलेसियाका लागि त्यति आवश्यक छैनन्, ती परियोजना उपयुक्त पनि होइनन्, त्यसर्थ उनले सकेसम्म ती दुवै परियोजना रोक्दैछन् ।

नजिबले मलेसियालाई चीनको निकटमा राखेका थिए । चीनले मलेसियालाई पनि चीनको महत्वाकांक्षी ‘वान बेल्ट वान रोड’ (ओबीओआर) को साझेदार मुलुकका रुपमा महत्व दिँदै आएको छ । नजिबले ६८८ किमी लामो पूर्वी तटीय रेल निर्माण गर्न तथा दुई वटा ग्यास पाइपलाइन बिछ्याउन सन् २०१६ मा सम्झौता गरेका थिए ।

चीनको राज्य नियन्त्रित कम्पनीले निर्माण गरिरहेका यी दुवै परियोजनाका कामहरु मलेसियाको नयाँ सरकारले रोकेको छ । परियोजनाको ठूलो लगानीमा कमी ल्याएको छ । यी दुबै परियोजनाको कूल लागत करिब २२ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । उक्त लागतमध्ये केही रकम मलेसियाले भुक्तानी गरिसकेको छ र यसलाई उठाउन मुस्किल छ ।

यदि सम्पूर्ण परियोजना खारेज गर्न नसकिए पनि मलेसियाले लामो अवधिसम्म रोकेर राख्न सक्नेछ, र ‘आवश्यकता परेपछि मात्र अघि बढ्नेछ,’ महाथिरले भनेका छन् ।

महाथिरले दक्षिण चीन सागरमा मलेसियाली जहाजलाई निर्वाध रुपमा हिँडडूल गर्न दिनुपर्ने पनि बताएका छन् । यी क्षेत्रमा चीन र दक्षिण पूर्वी एसियाका धेरैवटा देशले दाबी गरिरहेका छन् । यस सागर क्षेत्रमा माछा मार्ने र खनिज तेलको ठूलो भण्डार रहेको छ ।

चीनले सागरको अधिकांश हिस्सा आफ्नो रहेको दाबी गरिरहेको छ र यहाँ चीनले स–साना मानव निर्मित टापुहरु निर्माण गरेको छ जहाँ हवाई मैदान, ह्यान्गर, राडार र क्षेप्यास्त्र स्टेशनहरु तैनाथ गरिएको छ । यहाँ अमेरिकाले समेत नियमित रुपमा अरु लडाकू युद्धपोत र हवाईजहाज पठाउने गरेको छ । चिनीया जहाजहरुले पनि यहाँ निगरानी तिब्र बनाइआएका छन् ।