‘प्रेग्नेन्ट’ युनाले अमेरिकाबाट भनिन्- ‘बल्ल आयो मेरो आमा बन्ने समय’

‘प्रेग्नेन्ट’ युनाले अमेरिकाबाट भनिन्- ‘बल्ल आयो मेरो आमा बन्ने समय’


राजन घिमिरे

एक समयकी नेपाली चलचित्रकी चर्चित अभिनेत्री युना उप्रेती अब ‘दुई’बाट ‘तीन’ बन्ने तयारीमा छिन् । विगत पाँच वर्षदेखि अमेरिका बस्दै आएकी युनाले आफू गर्भवती भएको तस्बिर सार्वजनिक गरेर यस्तो सन्देश दिएकी हुन् ।

अमेरिका पुगेपछि विकास अधिकारीसँग विवाह गरेकी युनाले अभिनय गरेको पहिलो चलचित्र ‘पर्खिबसेँ’ हो भने अमेरिका जानुअगाडि उनले ‘प्रितीको फूल’ चलचित्रमा काम गरेकी थिइन् ।

पाँच वर्षअघि बिहे गरेकी युनाका श्रीमान विकास अमेरिकामा मेडिकल अफेयर्समा काम गर्छन् भने आफूचाहिँ अमेरिकाको ऐकेडेमी बैंकमा पर्सनल बैंकरको रूपमा काम गरिरहेको युनाको भनाई छ ।

१४ वटा चलचित्रमा काम गरिसकेपछि अमेरिका भासिएकी युनाले सन्तान जन्माउन ढिला गर्नुको रहश्य खोल्दै घटना र विचारसँग भनिन्– ‘आफैं व्यवस्थित नभई सन्तान जन्माउँदा कठिनाई बढ्न सक्ने सोचेर ढिलो गरेका हौँ । पहिला आफू व्यवस्थित भएर परिस्थिति अनुकुल तुल्याउनु पर्यो नि ! यसरी ब्यबस्थित हुन लाग्दा बच्चा जन्माउने तयारीमा केही ढिलाई भएकै हो । अबचाहिँ आमा बन्ने समय आएको छ मेरो ।’

थप प्रष्ट्याउँदै उनले भनिन्– ‘संसारमा आएपछि नयाँ सन्तानले कुनै कुराको अभाव खेप्नु नपरोस् भन्नेमा हामी दुवै सचेत थियौँ । सबै कुराबाट ढुक्क भएपछि दुईबाट तीन हुने तयारीमा लागेका हौँ ।’

यसरी अमेरिका पुगेर त्यतै घरजम गरिएला भन्ने आफूले कहिल्यै नसोचेको खुलासा गर्दै उनले नसोचेकै कुराहरू हुँदै जाने भएकैले जीवन कौतुहलपूर्ण रहेको दार्शनिक कुरा गरिन् । ‘के सोचेँ मैले के भयो अहिले…’ भन्दै उनले थपिन्– ‘म मेरो अमेरिका बसाई र पारिवारिक जीवनबाट सुखी र आनन्दित छु । हाम्रो यस खुशीमा खुशी थप्न धर्तीमा आउन लागेको नयाँ सदस्य हाम्रो निम्ति अमूल्य वरदान हुनेछ ।’