१२ मेगावाट सौर्य ऊर्जाको खरिद सम्झौता

१२ मेगावाट सौर्य ऊर्जाको खरिद सम्झौता


नेपाल विद्युत् प्राधिकरणले एकपछि अर्को गर्दै सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता गरेको छ ।

ऊर्जा मिश्रणको अवधारणाअनुसार प्राधिकरणले सौर्य परियोजनाबाट उत्पादित विद्युत् खरिदका लागि सम्झौता गरेको हो । प्राधिकरणले दुई परियोजनाबाट उत्पादित १२ मेगाबाट सौर्य ऊर्जा खरिदको सम्झौता गरेको हो । अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

कम्पनीले पर्साको परवानीपुरमा आठ मेगावाट र रौतहटको चन्द्रनिगाहापुरमा चार मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्न लागेको छ । ती आयोजनासँग प्रतियुनिट सात रुपैयाँ ३० पैसामा आगामी २५ वर्षका लागि विद्युत् खरिद सम्झौता गरेको हो ।

सम्झौतामा प्राधिकरण उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले हस्ताक्षर गरेका हुन् । उत्पादित विद्युत प्राधिकरणको नजिकैको सवस्टेशनमा जोडिनेछ । आगामी १० महिनाभित्रै विद्युत् उत्पादन गरी सवस्टेशनमा जोड्ने तयारी गरिएको र आजको सम्झौताले आफूहरुलाई उत्साहित बनाएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

उनका अनुसार आगामी भदौको पहिलो सातादेखि नै सौर्य ऊर्जा प्रणाली जडानको काम शुरु हुनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्य्विधि २०७४’ अनुसार विद्युत् खरिद सम्झौता भएको हो ।

बजारमा सौर्य पाताको मूल्य घटेको र अन्तराष्ट्रियरुपमा नै सौर्य ऊर्जा प्रणालीको मूल्यसमेत क्रमशः ओरालो लागेको छ । प्राधिकरणले ऊर्जा मिश्रणको अवधारणाअनुसार नुवाकोटमा २५ मेगावाटको सौर्य प्रणाली जडान गर्न लागेको छ । सो परियोजनाको समेत निर्माण शुरु भइसकेको छ । विद्युत् विकास विभागले हालसम्म ४४ वटा सौर्य परियोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । ती परियोजनाको क्षमता २२२ मेगावाट छ ।