कुरीतिको माारमा महिला नै बढि

कुरीतिको माारमा महिला नै बढि


कुरीतिजन्य हिंसाका बारेमा ‘सोच नेपाल’ले गरेको एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा हिंसाका कारण सबैभन्दा बढी महिला पीडित भएको जनाइएको छ । दैनिक पत्रपत्रिकामा प्रकाशित भएका समाचारहरुलाई आधार मानी सोच नेपालले २०७४ चैत १८ गते देखि २०७४ असार १७ गतेसम्म मिडिया मोनिटरिङ गरेको थियो । यस अबधिमा देशभरि कुरीतिजन्य हिंसाका ६५ वटा घटना सार्वजनिक भएका थिए ।

२१औ शताब्दीको वैज्ञानिक यूगमा पनि कु–संस्कार तथा अन्धविश्वासका कारण मान्छेमाथि हुने अमानवीय घटनाहरुलाई न्यूनीकरण गर्न सम्बन्धित सरोकारवालालाई दबाब तथा ध्यानाकर्षण गराउन यो अध्ययन गरिएको सोच नेपालले जनाएको छ । नेपालको कानून अनुसार हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार छ, त्यही अधिकारलाई सुनिश्चित गर्ने वातावरणको सिर्जना गर्न सोच नेपालले यो अध्ययन गरेको पनि जनाएको छ ।

सार्वजनिक गरिएको प्रतिवेदनअनुसार अध्ययन गरिएको तीन महिनाको अवधिमा भएका घटनामध्य सबैभन्दा बढी जातीय छुवाछुत सम्बन्धीका १६ घटना घटेका छन् । यसैगरी बालविवाहका १५, दाइजोप्रथाका १०, लिङ्गविभेद प्रथाका ८, छाउपडीका ६, बहुविवाहका ४, बोक्सी प्रथाका ३, कमलरीप्रथा १, जिब्रो छेड्नेप्रथा १ र धामीझाँक्रीको १ घटनाहरु सार्वजनिक भएका छन् ।

सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार १० प्रकारका कुरीतिका कारण ६५ जना र ३ समुदाय पीडित भएको पाइएको छ । जसमा कुरीतिजन्य हिंसाका कारण ८ महिलाको ज्यानै गएको छ भने १६ जना (४ पुरुष, १२ महिला) शारीरिक हिंसाको पीडित भएका छन् । ३६ जना (५ पुरुष, ३१ महिला) मानसिक रुपमा प्रभाबित भएका छन् ।

प्रतिवेदनका अनुसार तीन महिनामा कुरीतिजन्य हिंसाका कारण ८ जनाले ज्यानै गुमाएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा बढीे दाइजोप्रथाका कारण ५ जना महिलाको, जातिय विभेदका कारण १ जना महिलाको, कमलरी प्रथाका कारण १ बालिकाको, छाउपडिका कारण १ महिलाको मृत्यु भएको छ । कुरीतिजन्य हिंसाका पीडित ६५ जना मध्ये ५८ जना महिला पीडित भएका छन् । यसै तथ्यांकवाट पनि कुरीतिका कारण सबैभन्दा बढी महिला पीडित हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । कुरीतिका कारण मृत्यु हुनेमा सबै महिला नै रहेका छन् ।

धर्म, प्रथा, परम्परा तथा कुसंस्कृतिका कारण नेपालमा कुरीतिजन्य महिला हिंसा घटना बढाएको सार्वजनिक प्रतिवेदनले प्रष्टै पारेको छ । महिलामाथि हुने हिंसाहरुको मुख्य कारण समाजमा चल्दै आएका कुप्रथा÷कुरीतिहरुलाई मान्न सकिन्छ भन्ने कुरामा कुनै दुईमत छैन । हरेक वर्ष घट्ने हिंसाका कारण महिलाहरु नै बढि पीडित हने गरेका छन् । यो विकृति र हिंसाको घटनाले समाजमा प्रत्यक्ष असर त गरेको छ नै, यसलाई तत्काल कसरी नियन्त्रण गर्ने भन्ने तर्फ सम्बन्धित निकाय नलागे यसले विकराल रुप नलेला भन्न सकिन्न । त्यसैले बेलैमा आवश्यक नीति नियमको निर्माण गरि कार्यान्वयन तर्फ अग्रसर हुन सम्बन्धित निकायलाई सोच नेपालले गरेको अध्ययन प्रतिवेदनले ध्यानाकर्षण गरेको छ ।