यमदूतको पर्याय बनेको नवलपुरको सडक

यमदूतको पर्याय बनेको नवलपुरको सडक


– रमेश बस्ताकोटी

हालैको घटना हो । राति ८ बजेतिर यो पङ्क्तिकार आफ्नो कार्यालयबाट बासस्थानतर्फ फर्कने क्रममा कावासोती (परासी)को सभापतिचोकमा बाटो काटेर आफ्नै गन्तव्यतर्फ अगाडि बढ्दै गर्दा तीव्र गतिमा आएको एउटा मालबाहक ट्रकले झन्डै ज्यान लिएन । तीव्र वेगमा आएको ट्रकको वेगसँगै आएको हावाले यदि पङ्क्तिकारलाई नलडाइदिएको भए, भयानक दुर्घटना हुने थियो । ट्रक आफ्नै रफ्तारमा अघि बढ्यो, सायद उसले पत्तो पाएन कि भर्खरै मैले एकजनाको ज्यान लिनै आँटेको थिएँ भनेर । उसले म तीव्र गतिमा छु र सडकमा मानिस हिँडिरहेका हुन्छन् भन्ने हेक्का नै राखेन । या भनौँ ऊ निष्फिक्री सडकमा ट्रक गुडाइरहेको थियो, उसलाई नियन्त्रण गर्ने तागत कसैमा छैन । ऊ यही सोच्दै थियो सायद ।

केही दिनअघि कार्यालयको बरान्डामा उभिएर सडकतिर हेरिरहेको थिएँ, तीनवटा मोटरसाइकल यति तीव्र वेगमा हुइँकिए कि उनीहरूलाई नियन्त्रण गर्न सक्ने कोही थिएन । थकाली चोकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिबाट आएका उनीहरूलाई ट्राफिकले समेत रोक्न सकेन । उनीहरूले अगाडि गएर कसैको ज्यान लिए या आफ्नै ज्यान गुमाए– भगवान्ले जानुन् ।

कावासोतीमा ठेलामा चटपटे व्यापार गर्ने एकजना परिश्रमीको तीव्र गतिमा आएको ट्रकले धन्न ज्यान लिएन । तीनजनाको परिवार चटपट बेचेकै भरमा पाल्नुपर्ने उनलाई मत्ता हात्तीझैँ भएर सबै बाटो मेरै हो भन्दै आएको ट्रकले ज्यान लिएको भए के हाल हुन्थ्यो होला ? कल्पना गर्न सकिँदैन ।

माथिका यी प्रतिनिधि घटना मात्र हुन् । नवलपुरको गैँडाकोटदेखि दुम्कीबाससम्मको राजमार्गमा सवारीचालकले यति छाडा भएर सवारी हाँक्छन् कि तिनले कतिबेला कसको ज्यान लिने हुन् पत्तो हुँदैन । गत वर्षको मात्र तथ्याङ्क हेर्ने हो भने अघिल्लो आर्थिक वर्षमा ६३ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् । ८७ जना घाइते भएका छन् । यो अत्यन्तै डरलाग्दो तथ्याङ्क हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको यो तथ्याङ्कलाई हेर्दा नवलपुर जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने प्रयास सफल भएको मान्न सकिँदैन । ३१ वटा ट्रक, २१ वटा बस, १४ वटा जिप तथा कार, १२ वटा ट्याक्टर, ७३ वटा मोटरसाइकल र १७ वटा अन्य सवारीसाधन अघिल्लो वर्ष दुर्घटनामा परेका थिए ।

ट्राफिकको तथ्याङ्कलाई हेर्दा अघिल्लो वर्ष १६६ वटा सवारी दुर्घटना भई ६३ जनाको मृत्यु, ८७ जना गम्भीर घाइते र ७९ जना सामान्य घाइते भएका छन् । ट्राफिकका अनुसार यी सबै दुर्घटना अत्यधिक गति र चालकको लापरबाहीका कारण भएका हुन् । यसबाट के पुष्टि हुन्छ भने नवलपुर जिल्ला प्रवेश गरिसकेपछि सवारीचालकहरू तीव्र गतिमा सवारी चलाउँछन् । राजमार्गको छेउमा एक घन्टा मात्र उभिएर हे¥यो भने पनि यो कुराको पुष्टि हुन्छ । सवारी तीव्र गतिमा चलाउँदा सवारीचालक, सवारीधनी, यात्रुहरू मात्र होइन बाटो हिँड्ने बटुवाहरूसमेत जोखिममा परेका छन् । कतिबेला कुनचाहिँ ट्रक या बसले आएर ज्यान लिने हो ठेगान हुँदैन ।

पछिल्लो समय नवलपुरको सडक यात्राको हिसाबले अत्यन्त जोखिम मानिन थालेको छ । जोखिम न्यूनीकरणका लागि भन्दै सरकारी र गैरसरकारीस्तरबाट अनेकौँ कार्यक्रमहरू भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निष्प्रभावी देखिएका छन् । यो आर्थिक वर्षको साउनयता मात्रै २ जनाले ज्यान गुमाइसके भने ७ जना घाइते भएका छन् । आर्थिक वर्ष ७३/७४ मा यो सडकखण्डमा १३४ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाएका थिए भने २८४ जना घाइते भएका थिए । यसलाई हेर्दा आ.व. ०७३/७४ मा भन्दा ०७४/७५ मा ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्यामा कमी देखिन्छ । यो सकारात्मक पाटो हो । तैपनि आशातीत रूपमा सवारी दुर्घटना न्यूनीकरण हुन सकेको छैन । भएका कार्यक्रम प्रभावहीन देखिएका छन् । जोखिम घटेको छैन ।

कावासोतीका व्यापारी जगन्नाथ पराजुली सवारीको तीव्र गतिका कारण मर्निङवाकमा निस्कन डर लाग्ने गरेको बताउँछन् । मर्निङवाकमा राजमार्गमा निस्कनु भनेको काल निम्त्याउनुसरह भएको उनको भनाइ छ । बिहानै राजमार्ग हुँदै कलेज जानुपर्ने विद्यार्थीको हालत उही छ । राजमार्गमा हुने सवारीको तीव्र गतिका कारण वैकल्पिक बाटो रोज्नुपरेको उनीहरूको भनाइ छ । हुन त अन्तर्राष्ट्रिय मापदण्डलाई हेर्ने हो भने अत्यावश्यक अवस्थामा बाहेक राजमार्ग पैदल यात्राको लागि प्रयोग गरिँदैन । तर, हाम्रो देशमा त्यो सुविधा छैन । बाध्यताबस राजमार्ग नै पैदल यात्राका लागि प्रयोग गर्नुपर्छ । तर, राजमार्गमा अत्यधिक सवारीको गतिका कारण असुरक्षित भइदिँदा घरबाट निस्किएपछि कतिबेला कुन ट्रक या बसले किचेर अचार भइने हो कुनै ठेगान छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीका प्रमुख लक्ष्मण शाहीले सवारीको गति नियन्त्रणका लागि अनेकौँ प्रयास भइरहे पनि सफल हुन नसकिरहेको स्वीकार गरे । जनशक्तिको अभाव, आवश्यक उपकरणको अभावलगायतका कारण नवलपुर जिल्लामा भनेजस्तो काम हुन सकिरहेको छैन । यति संवेदनशील क्षेत्रमा पनि जनशक्तिलगायत अन्य कारण देखाएर काम हुन नसक्नु दुर्भाग्य हो । ट्राफिक प्रहरीले सडक दुर्घटना हुनुको मुख्य कारण दुईवटा कुरालाई औँल्याएको छ । एक, तीव्र गति र अर्को चालकको लापरबाही । त्यसो हो भने किन तीव्र गति नियन्त्रण हुन सकिरहेको छैन । भएका कानुनको किन प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । तीव्र गतिका कारण बाटो हिँड्ने बटुवा र राजमार्ग छेउमा बसोवास गर्ने जोखिममा छन् । यात्रु त यसै जोखिममा हुने नै भए ।

नवलपुरमा हुने सवारी दुर्घटनाबारे पटकपटक समाचार प्रकाशन–प्रसारण भए, पटकपटक यसको न्यूनीकरणका प्रयास पनि भए, तैपनि आजको दिनसम्म पनि सर्वसाधारणले उही नियति भोगिरहनुपर्नेमा को दोषी हो ? कहिलेसम्म नवलपुरको सडक कालले कुरेर बसिरहेको सडकको रूपमा परिचित भइरहने हो ? अब गम्भीर भएर सोच्नैपर्ने बेला आएको छ ।

यदि ट्राफिक प्रहरीलाई भनेजति जनशक्ति र आवश्यक उपकरण छैन भने त्यो किन पर्याप्त हुन सकिरहेको छैन ? यस्तो संवेशनशील विषयमा किन सरकारले केही काम गर्न सकिरहेको छैन । यहाँका जनप्रतिनिधिहरूले किन यो विषयमा काम गर्न सकिरहेका छैनन् ? जनताको जिउधनको सुरक्षा गर्छु भनेर कसम खाएर निर्वाचित भएका जनप्रतिनिधिहरूले यो विषयमा सोच्नुपर्छ कि पर्दैन ? कि हामी सधैँ ट्राफिक प्रहरीलाई मात्र दोष दिएर उम्कने हो ?

यातायात व्यवसायीहरूलाई तीव्र गति र चालकको लापरबाहीको कुरा गर्दा उनीहरू सहज रूपमा यसलाई स्वीकार गर्दैनन् । उनीहरू ट्राफिक प्रहरी र सडकको दुरावस्थालाई दोष दिन्छन् । यसरी एकले अर्कालाई दोष दिएर सर्वसाधारणको ज्यान कहिलेसम्म लिने हो ? दुर्घटना कति भयावह हुन्छ र यसले कस्ता असरहरू निम्त्याउँछ भन्ने कुरा भोग्नेलाई थाहा हुन्छ । हामीले किन यसलाई अत्यन्त हल्का रूपमा लिएका छौँ ? सवारी दुर्घटना न्यूनीकरणका लागि प्रयासहरू मात्र भएर पुग्दैनन् । एक दिन एक घन्टा सडकमा निस्किएर जनचेतना जगायौँ भन्दैमा सवारी दुर्घटना न्यूनीकरण हँुदैन । यसका लागि साँच्चै प्रभावकारी रूपमा काम गर्न आवश्यक छ । कसरी काम प्रभावकारी हुन्छ त ? प्रश्न आउला । यसका लागि आवश्यक नीति बनाउन आवश्यक छ । बनाएका नीतिहरूलाई कडाइका साथ लागू गर्न आवश्यक छ ।

अहिले मुलुक सङ्घीय संरचनामा गएको छ । आफ्ना लागि आवश्यक पर्ने कानुन बनाएर कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारले समेत सक्छन् । यस्तो बेलामा हाम्रो परिस्थितिलाई हेरेर किन अब आवश्यक कानुन नबनाउने ? कि सधैँ हाम्रो राजमार्गलाई यमराजले कुरेर बसेको राजमार्गको रूपमा परिचित गराइरहने ? यसप्रति अब सबै सरोकारवाला निकायहरू गम्भीर बन्नैपर्छ ? अत्यधिक सवारी दुर्घटना हुने भनेर चिनिएको हाम्रो जिल्लामा पर्ने राजमार्गको सडकमा सवारी दुर्घटना न्यूनीकरणका लागि यो वर्ष स्थानीय र प्रदेश सरकारले कति बजेट छुट्याए ? अब नागरिकहरूले यो पनि खोज्न आवश्यक छ । यदि यसप्रति स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेका छन् भने जनस्तरबाट अब दबाब दिन पनि आवश्यक छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले पनि अब सोच्न आवश्यक छ । दुई–चारवटा स्टिकर सवारीसाधनमा टाँसेर मात्र सवारी दुर्घटना न्यूनीकरण हुँदैन । यसको लागि प्रभावकारी रूपमा काम गर्नुपर्छ । सम्बन्धित निकायले पनि काम गर्न केही अप्ठ्यारो परेको छ भने खुलस्त राख्न सक्नुपर्छ । ता कि काम गर्ने निकायलाई परेको अप्ठ्यारा विषयमा जनस्तरबाट दबाब सिर्जना गर्न सकियोस् । सधँै यही अवस्था रहिरहनुहुँदैन । तीव्र गतिमा सवारी चलाउने, लापरबाही गरेर सवारी हाँक्ने चालक, गल्ती भएको देखेर पनि भइहाल्यो भनेर कुनै दबाब या प्रभावमा परेर माफी दिने प्रहरी सबैलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ । साँच्चै मनदेखि काम गर्ने हो भने सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । तर, त्यसका लागि ट्राफिक प्रहरीलाई पनि सबैको सहयोग आवश्यक पर्दछ ।

एउटा उदाहरण लिऊँ– काठमाडौंमा दिनहुँजसो टिपरले मानिसको ज्यान लिन थालेपछि अहिले निश्चित समय तोकेर मात्र टिपरलाई चलाउन अनुमति दिइएको छ । यसको कार्यान्वयन प्रभावकारी रूपमा भइरहेको छ । राजमार्गमा त्यो सम्भव नहोला, तर अत्याधुनिक मेसिनको प्रयोग गरी सवारीको गति मापन गर्ने, अत्याधुनिक प्रविधिको प्रयोग गरी सवारीसाधनका गल्तीहरू पत्ता लगाउने काम राजमार्गमा पनि गर्न सकिन्छ । उनीहरूको गल्तीअनुसारको सजाय दिन थालियो भने पक्कै पनि सवारी दुर्घटना न्यूनीकरण हुन्छ । मेरो मतलब यहाँ काम नै भएको छैन भन्ने होइन, सकारात्मक कामहरू पनि भएका छन् । तर, हामीले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेका छैनौँ, यो सत्य हो । त्यसैले सबैले हातेमाले गर्दै नवलपुरलाई सवारी दुर्घटना अत्यन्त कम हुने र अत्यन्त सहज सडकको रूपमा मुलुकभर परिचित गराऔँ । यसका लागि ट्राफिक प्रहरीको प्रयास मात्र काफी हुँदैन । यस कार्यका लागि यहाँका नागरिक समाज, सरकारी, गैरसरकारी संस्था, राजनीतिक दल, जनप्रतिनिधि, युवा, विद्यार्थी सबैको सहयोगको खाँचो पर्दछ । अब हामीले छिट्टै कालले कुरेर बसेको सडकको परिचय हटाउन आवश्यक छ । आउनुहोस् हातेमालो गरौँ ।