तालिवान समूहको आक्रमणबाट सयभन्दा बढिको मृत्यु

तालिवान समूहको आक्रमणबाट सयभन्दा बढिको मृत्यु


अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा गत शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सयौँको सङ्ख्यामा आएका तालिवान लडाकूले गजनी शहरलक्षित आक्रमणका क्रममा विदेशी सेनाको हवाई आक्रमणको सहयोगमा अफगानी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको अफगानी प्रहरीले जनाएको छ ।

झडपमा कम्तीमा १३ सर्वसाधारण, ९० तालिवान लडाकू र केहीको सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको स्पुटनिकले जनाएको छ । घटनामा १३३ जना घाइते भएका पनि बताइएको छ । घाइतेमध्ये अधिकांश तालिवान समर्थक रहेका बताइएको छ ।

शुक्रबारदेखि शुरु भएको विद्रोही तथा सरकारी सुरक्षाकर्मीबीचको भडप आइतबारसम्म पनि जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले पछिल्लो झडपमा तालिवान पक्षका १०० भन्दा बढी लडाकूको मृत्यु भएको जनाएका छन् । गजनीमा भएको भीडन्तमा विगत केही महिना यताकै ठूलो मानवीय क्षति तालिवान पक्षले व्यहोर्नु परेको बताइएको छ ।

सरकारी २०३ टेन्डर मिलिटरी कप्र्सका अधिकारीहरूले तालिवान पक्षले निर्वाचन आयोगको कार्यालयमा आगो लगाई काबुल–कान्दाहार राजमार्ग अवरुद्ध पारेपछि शुरु भएको भीडन्त जारी रहेको पुष्टी गरेका छन् ।