लोकतन्त्र ‘नेकपा’ले जन्माएको ओलीको दाबी

लोकतन्त्र ‘नेकपा’ले जन्माएको ओलीको दाबी


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकारप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बधाई दिँदै उनले सरकार मर्यादित, स्वतन्त्र प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति संवेदनशील रहेको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कैयौँ नेता, कार्यकर्ता सहिद भएकाले वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने स्पष्ट पारे ।

माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?’ प्रधानमन्त्री ओलीको प्रश्न छ, ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रताविरोधी करार गर्न खोज्ने ?’

‘नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन हुने कुरा कल्पनासम्म हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुरा मिडियाले बुझ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने उल्लेख गरे । केही सञ्चारमाध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकामा प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, ‘अहिले लेखिएका विषय २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले १० वर्षमा नेपालको कायापलट गर्न सकिने दाबी गरे । कृषिमा आश्रित जनसंख्यालाई दुई वर्षमा २० प्रतिशतमा झार्ने, तर यसको उत्पादकत्व हालको भन्दा कैयौँ गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।