मालपोतको सेवा अनलाइनमार्फत, बिचौलियाको चलखेल समाप्त हुने विश्वास

मालपोतको सेवा अनलाइनमार्फत, बिचौलियाको चलखेल समाप्त हुने विश्वास


जिल्ला मालपोत कार्यालय नुवाकोटले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ ।

कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रूपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एकरूपता हुने तथा कारोबारको सबै तथ्यांक प्रभावकारी हुने बताए ।

जग्गाधनीले कुन जग्गा बेच्ने भनेर अनलाइनमै घरबाट फारम भर्न सक्ने भएकाले सेवाग्राहीलाई सहज हुने महानिर्देशक आचार्यले बताए । उनले जग्गा बिचौलियाको कारण हुने विभिन्न समस्या, एक ठाउँको जग्गा देखाएर अर्को स्थानको जग्गा बेच्नेजस्ता काम गर्न नसकिने भएकाले सेवाग्राहीलाई अनलाइन सेवाले ठगिनबाट पनि बचाउने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नयाँ प्रविधिलाई कार्यालयले भित्र्याएर राम्रो कामको शुरुवात गरेको बताए । प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापाले मालपोत कार्यालयमा बिचौलियाको चलखेल हुने गरेको गुनासो आउने गरेकामा अब अनलाइन सेवाले त्यस्तो हुन नदिने विश्वास व्यक्त गरे ।