टेलिकमको आम्दानी २.१९ प्रतिशत वृद्धि, बजार हिस्सा ५१ प्रतिशत

टेलिकमको आम्दानी २.१९ प्रतिशत वृद्धि, बजार हिस्सा ५१ प्रतिशत


नेपाल टेलिकमको गत आर्थिक वर्षको कुल आय रु. ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा टेलिकमले रु. १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलव ९२ प्रतिशत वृद्धि भएको छ ।

टेलिकमको प्रतिशेयर आम्दानी अघिल्लो आवको तुलनामा एक रुपैयाँ ९६ पैसाले वृद्धि भई १०४ रुपैयाँ ४५ पैसा पुगेको छ । विगत लामो समयदेखि सञ्चालनमा रहेका ल्यान्डलाइन सेवाका पुराना उपकरण विस्थापन गरी ‘टिडिएम माइग्रेसन’ आयोजनाअन्तर्गत आधुनिक प्रविधिमा आधारित आईएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको छ । सोअनुरूप हालसम्म करिब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रूपान्तरित भई सेवा सञ्चालनमा आइसकेको टेलिकमको विज्ञप्तिमा उल्लेख छ । क्रमिक रूपमा अन्य लाइन रूपान्तरण गर्ने काम जारी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकामा तोकिएको समयअगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । ०७५ जेठ मसान्तसम्म कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ९७ लाख ४७ हजार ४४५ र इन्टरनेट ग्राहक आधार एक करोड ६ लाख ५२ हजार ४२९ रहेको छ । ०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २२३ तथा इन्टरनेटतर्फ २२ लाख २६ हजार ५३५ ले वृद्धि भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत आवको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकामा गत जेठ महिनामा सो बजार हिस्सा दुई प्रतिशतले वृद्धि भई ५१ प्रतिशत पु¥याउन कम्पनी सफल भएको कम्पनीले जनाएको छ ।