भरतशमशेरको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त

भरतशमशेरको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त


नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य भरतशमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कार्यबाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकपछि कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पुराना अग्रज नेता भरतशमशेर राणाको साउन २५ गते कोलकातामा भएको निधनबाट नेपाली कांग्रेस मर्माहत भएको छ । बीपी कोइराला प्रधानमन्त्री रहनुभएको नेपालको प्रथम संसदमा गोर्खा परिषद्को नेताको हैसियतले उहाँ प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो । ०१७ सालको प्रतिगामी कदमसँगै बीपीलगायतका नेता–कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिँदै स्वर्गीय राणाले आफ्नो सिंगो पार्टीलाई बिनासर्त नेपाली कांग्रेसमा विलय गराउनुभयो र बाँकी सम्पूर्ण जीवन बीपी विचारधाराप्रति अर्पित गर्दै लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित गर्नुभयो । यी अथक योद्धाको भौतिक बिदाइको यो क्षणमा नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।’

साउन २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउन २८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने र भदौ ६ गते केन्द्रीय कार्यालय सानेपामा शोकसभाको आयोजना गर्ने

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘स्वर्गीय राणाले लोकतन्त्र र गणतन्त्रमार्फत समाज परिवर्तन गर्न सकिन्छ भनेर पुऱ्याउनुभएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ । राजनीतिसँगसँगै सांस्कृतिक र व्यावसायिक जीवनमा चलचित्र निर्माता र निर्देशकका रूपमा पनि उहाँको भूमिका स्मरणीय रहनेछ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक स्वर्गीय राणाको आत्माको चिरशान्तिको कामना साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

बैठकले कृष्णप्रसाद भट्टराई सभापति रहेका बेला केन्द्रीय सदस्य रहेका स्वर्गीय राणाको सम्मानमा साउन २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ । यसैगरी उनको निधनमा साउन २८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने र १३औँ दिन (भदौ ६) गते केन्द्रीय कार्यालय सानेपामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।