राष्ट्रिय स्क्वासमा अरहान्त र भावनाले बाजी मारे

राष्ट्रिय स्क्वासमा अरहान्त र भावनाले बाजी मारे


अरहान्तकेशर सिंह र भावना सुनुवारले तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष सिंगल्समा अरहान्त र महिलामा भावनाले उपाधि जितेको यो लगातार तेस्रोपटक हो ।

सातदोबाटोमा भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११–७, ७–११, ११–८ र ११–६ को सेटमा पराजित गरेका थिए । त्यस्तै महिलातर्फको फाइनलमा भावनाले कृष्णा थापालाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा पराजित गरेकी थिइन् ।

मास्टर्स ५० वर्षमाथि सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले दिलीपनरसिंह अधिकारीलाई ११–६, ११–८ र ११–५ ले पाखा लगाउँदै पहिलो भए । यू–१५ ब्वाइज सिंगल्समा विकास मगरले स्वर्ण जिते । उनले फाइनलमा सलिम थापामगरलाई ११–४ र ११–५ को सोझो सेटमा निराश पारे । सोही स्पर्धाको गल्र्समा सपना ब्लोन च्याम्पियन बनिन् । फाइनलमा सपनाले मुस्कान राउतको चुनौती ११–४ र ११–३ ले समाप्त पारेकी थिइन् ।

यू–१९ ब्वाइज सिंगल्सको फाइनलमा अमिर ब्लोनले विजय मगरलाई ११–९, ११–३ र ११–३ को सीधा सेटमा पाखा लगाउँदै शीर्ष स्थान हात पारे । पुरुष सिंगल्सको प्लेटतर्फ अमिर ब्लोन पहिलो भए । उनले फाइनलमा स्टिभ फ्रान्सिसलाई १२–१०, ११–९, ६–११ र ११–८ को सेटमा पराजित गरेका थिए ।

विजेतालाई प्रतिनिधिसभाका सांसद एवम् नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, आयोजक नेपाल स्क्वास ¥याकेट्स सङ्घका अध्यक्ष किशोर महर्जनलगायतले पुरस्कृत गरेका थिए ।

पाँचदिने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ६ रुपैयाँ रहेको थियो । आयोजक सङ्घका अध्यक्ष महर्जनकी आमा धनलक्ष्मी महर्जनको स्मृतिमा विगत ३ वर्षदेखि प्रतियोगिता हुँदै आएको छ । अध्यक्ष महर्जनले नै प्रतियोगिताको प्रायोजन गरेका हुन् ।