उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा विज्ञ समूह गठन

7 Shares

शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विज्ञ समूह गठन गरेको छ । आयोगका अध्यक्ष, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आइतबार बसेको तेस्रो बैठकले शिक्षाका आठ वटा विषयगत कार्यक्षेत्र तोकी विज्ञ समूह गठन गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले दिएको जानकारीअनुसार बैठकले उच्च शिक्षाको बारेमा सुझाव दिनका लागि पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधार, माध्यमिक शिक्षाका लागि श्याम श्रेष्ठ, आधारभूत शिक्षाका लागि प्राडा मीनबहादुर विष्ट, जीवनपर्यन्त शिक्षाका लागि विमल फुयाँल र प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि प्राडा टंकनाथ शर्माको विज्ञ समूह गठन गरिएको छ ।

यस्तै, शैक्षिक संस्थाको सुशासन, वित्त र साझेदारीका लागि उषा झा, शिक्षामा गुणस्तरको लागि पूर्वशिक्षामन्त्री धनीराम पौडेल र समावेशिता र समसामयिक विषयको लागि प्रा डा विद्यानाथ कोइरालाको विज्ञ समूह गठन गरिएको छ ।

आठ विषयमा विज्ञ समूहले सरोकारवालासँग छलफल गरेर चाँडै नै आयोगलाई प्रतिवेदन बुझाउने प्रवक्ता अर्यालले बताए ।

बैठकमा सङ्घीय शासन प्रणालीमा शिक्षाको दूरदृष्टि, उद्देश्य, समाजवादउन्मुख शिक्षाको प्रणाली, शिक्षाको निर्देशक सिद्धान्त र सङ्घीय संरचनाअनुसार तहगत भूमिकाका सम्बन्धमा आयोगमा छलफल अगाडि बढाउँदै अवधारणा पत्र विकास गर्ने निर्णय भएको बताइएको छ ।

7 Shares

प्रतिक्रिया