विम्स्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राखिने

विम्स्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राखिने


बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलनको आधारभूत विषयमा छलफल भएकोछ ।

विम्स्टेकका सदस्य राष्ट्रका पदाधिकारीहरुबीच भएको एक दिवसीय बैठकमा काठमाडौंमा हुन लागेको शिखर सम्मेलनपछि काठमाडौं घोषणापत्रका विषयमा छलफल भएको छ । छलफलमा १४ वटा प्राथमिकताका विषय केन्द्रित रहेका छन् ।

विम्स्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राख्नुपर्नेमा सदस्य राष्ट्रका पदाधिकारीहरुले जोड दिएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए । उनले भूपरिवेष्ठित राष्ट्रको कनेक्टिभिटीलाई समेत जोड दिइएको जानकारी दिनुभयो । विद्युतीय प्रसारण लाइन विस्तार, सडक सञ्जाल लगायतका विषयमा समेत सदस्य राष्ट्रका पदाधिकारीबीच छलफल भएको थियो ।

बैठकमा विम्स्टेकको आम्दानी तथा खर्च, सचिवालयको प्रभावकारी सञ्चालन लगायतका विषयमा समेत छलफल भएको थियो । यस्तै बैठकमा नेपाल–भारत प्रबुद्ध समूह जस्तै प्रवुद्ध समूह इपीजी गठन र यसका क्षेत्राधिकारका विषयमा समेत चर्चा गरिएको सचिव वैरागीले जानकारी दिनुभयो ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको अन्य तयारीमा सरकार जुटेको छ । विम्स्टेक शिखर सम्मेलनको तयारी स्वरुप बसेको बैठकमा बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु सहभागी थिए ।

सदस्य राष्ट्रका परराष्ट्र-विदेश-बाह्य मामिला मन्त्रालयका वरिष्ठ अधिकारीको उक्त बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले गरेका थिए । वरिष्ठ अधिकारीको विशेष बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा भएको थियो ।