बलियो सरकारको निरीह चाल !

बलियो सरकारको निरीह चाल !


– स्वयम्भूनाथ कार्की

नेपालमा नयाँ संविधानअन्तर्गतको पहिलो निर्वाचित सरकार वामपन्थीको छ । निर्वाचनको परिणामले जे बहुमतको भए पनि वर्तमानमा यो दुईतिहाइको बलियो सरकार हुन पुगेको छ । अहिले मुलुकमा राजसंस्था छैन, त्यसैले बीपीको बेलामा जस्तो त्यताबाट अङ्कुश लाग्ने कुनै कल्पना छैन । संविधानको प्रावधानले एकै दलको हुन नपाउने भनिएका पदहरू पनि सत्तारुढ दलकै पोल्टामा छ । अर्थात् पार्टी एकीकरण पनि भएको छ र अलग अस्तित्व पनि कायम छ । केपी ओलीलाई भारतको विरोध गरेर राष्ट्रवादीको भ्रमले प्राप्त उच्च विश्वास कायम नै छ । मोदीको करिब–करिब चाकरी नै भन्न सुहाउने स्वागत गरे पनि मिलिजुली नाकाबन्दीमार्फत् कमाइएको साख कायम छ ।

हिन्दी उखानमा ‘शेखचिल्ली के सपनें’ भनिन्छ, ठ्याक्कै नभए पनि ‘मनको लड्डु घिउसँग खान’ उनलाई छुट छ । केपीका ती आकाशपाताल जोड्ने गुड्डी नमानिदिएबापत जनताले अनेकौँ आरोप खेप्नुपरेको छ । त्यो आरोप पनि सामान्य राजनीतिकर्मीबाट होइन समाजमा बुद्धिजीवी मानिएका, अझ नागरिक समाजका मूर्धन्य अगुवाबाट । जब हिजो जनताले अपेक्षाकृत रूपमा तटस्थ ठानेका र उनीहरूले जसो भने पनि मानेका नै यो स्तरमा तल उत्रेर कुरा गर्दछन् भने आउरेबाउरेले त के पो बाँकी राख्लान् र ।

आज हरेक चोकमा, चौतारामा, चियापसलमा मात्र होइन सामाजिक सञ्जालमा पनि ओली समर्थनको अभूतपूर्व लहर देखिएको छ । आफैं भएको संवैधानिक परिषद्को सिफारिसमा, अर्थात् आफैंले सिफारिस गरेर सुनुवाइ समितिलाई अस्वीकार गर्न लगाउने हैसियत यो सरकार राख्छ– यदि नियुक्ति भयो भने महाअभियोग लगाउने धम्की दिएर ।

अर्थात्, अहिले पक्ष वामपन्थी, विपक्ष वामपन्थी, सरकारमा वामपन्थी, सदनमा वामपन्थी, न्यायालयमा वामपन्थी अर्थात् नेपाल वामपन्थमय भएको छ । यस अवस्थामा पनि सरकार आफूले काम गर्न नपाएको गुनासो गरिरहन्छ । उसका उच्चकोटिकादेखि सडकछापसम्मका आउरेबाउरे जे गरे पनि सरकारको विरोध हुन्छ भनेर विलौना गर्न व्यस्त छन् । यस्तो लाग्छ कसैले प्रधाममन्त्रीको आकाशपाताल जोड्ने गुड्डी नपत्याएर जघन्य अपराध गरेको छ । मुलुकको विकास अवरुद्ध पारेको छ । मुलुकको अर्थतन्त्र स्वाहा पारेको छ । जब नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली भनेर भनिएको सरकार यत्तिको डरछेरुवा छ भने अरूले कसरी काम गरे होला ?

अहिले पक्ष वामपन्थी, विपक्ष वामपन्थी, सरकारमा वामपन्थी, सदनमा वामपन्थी, न्यायालयमा वामपन्थी अर्थात् नेपाल वामपन्थमय भएको छ । यस अवस्थामा पनि सरकार आफूले काम गर्न नपाएको गुनासो गरिरहन्छ ।

दुईतिहाइको बीपी सरकार अपदस्त गरेर राजा महेन्द्रले कसरी विकास गर्न सके होलान्, जब कि त्यसबेला भारतीय संसद्मा नै राजाको विरोधको प्रस्तावमा छलफल भएको थियो । राजा महेन्द्रलाई अप्रजातान्त्रिकको आरोप लाग्यो । राजनीतिमा एकलकाँटे भएको आरोप पनि लाग्यो । तर, त्यसबेलादेखि हालसम्म कसैले पनि उनले विकास नगरेको भनेर भन्न सकेनन् । मुलुकको हितमा चोट पुऱ्याएको भन्न सकेनन्, चरित्रमा दाग भेट्न सकेनन् । एकप्रकारले मुलुकभित्र र बाहिर सबैतिर प्रजातन्त्र खोसेको आरोपित भएर वक्रदृष्टिमा परे पनि त्यसले उनलाई काम गर्न रोकेन ।

अहिले केपी ओली नेतृत्वको वामपन्थी सरकार शिशु कक्षाको विद्यार्थीले झैँ वहाना बनाउन तल्लीन छ । काम शुरु गर्न सकेको छैन, तर असफलताको भारी बोकाउने पात्र खोज्न थालिसकेको छ । केपी ओलीको गफ हावा गफ होइन भन्न विराटनगरमा सञ्चालित गौशालाले वरपर बेचेको गोबरग्यासलाई घरघरमा ग्यास पुऱ्याउने उनको बोली पूरा हुनेतर्पmको कदम साबित गर्न लागेका छन् । बाहिरको फोटो देखाएर त्यसलाई कलंकीको अण्डरपासको फोटो भनेर जिद्दी गर्न विवश छन् । मातातीर्थमा एक किलोमिटर करिब बिजुली प्रसारण लाइन जमिनमुनिबाट लैजाने योजनाको खबरसँग जमिनमुनिबाट तार बिछ्याउने काम गर्ने विदेशी कम्पनीको विज्ञापनको फोटो हालेर रफ्फु गर्न परेको छ ।

पाँच वर्ष हेरौँ नगरेमा त्यसपछि सोचौँला भन्नेको कमी पनि छैन । हुँदाहुँदा ओलीले नाकले सास फेर्नुपर्छ भनेमा विरोधीहरू नाकै थुन्छन् होला भनेर भन्छन् । हुन त यसो भन्नेहरूको स्तर हेरेर यसलाई सरकारको लुतेचालासँग जोड्न उपयुक्त नहुने हो । तर, यी सबै कुरा विरोधीहरूको तगडा प्रतिकार गर्ने केपी ओलीको निर्देशनपछि आएका छन् । त्यसैले यी सबै कुरा सरकारी निर्देशनमा भइरहेका छन् । खुरुखुरु काम गर्न छोडेर यस्तो शक्तिशाली सरकारले किन विरोधीको तगडा प्रतिकार गर्नुपऱ्यो ? कारण हाँसउठ्दो छ ।

लाखौँ राजावादीले वर्षौँ पुकारा गर्दा पनि टसका मस नभई आफ्नो समय व्यापार र धर्मकर्ममा बिताइरहेका पाखा लगाइएका राजाले षड्यन्त्र गरे अरे । त्यसैले अब धर्मकर्म गर्नपट्टि नलागेर सरकारले गठन गरेको गणतन्त्र दिवस समारोहको सदस्य बनिदिनुपर्ने अरे । अहिले समर्थकका पुकारामा पनि टसकामस नगरेका राजाबाट नै यत्रो डर छ भने भोलि यसरी सार्वजनिक जीवन रोजे भने गणतन्त्रको के गति होला ?

राजा महेन्द्रलाई अप्रजातान्त्रिकको आरोप लाग्यो । राजनीतिमा एकलकाँटे भएको आरोप पनि लाग्यो । तर, त्यसबेलादेखि हालसम्म कसैले पनि उनले विकास नगरेको भनेर भन्न सकेनन् । एकप्रकारले मुलुकभित्र र बाहिर सबैतिर प्रजातन्त्र खोसेको आरोपित भएर वक्रदृष्टिमा परे पनि त्यसले उनलाई काम गर्न रोकेन ।

नूर गिरेर, पथभ्रष्ट भएर समाप्तितर्फलागेको नेपाली काङ्ग्रेसको विरोधले थरहरी भए अरे । यो त झन् हाँसउठ्दो कुरा हो । जुन सङ्गठन दिग्भ्रमित भएको छ, आफ्ना सदस्यहरूमा नै कुनै ऊर्जा भर्न सकिरहेको छैन त्यसबाट हाललाई कसैलाई कुनै प्रकारको खतरा हुने कुरै भएन । ५६ कोटी यदुवंशीले एक–अर्कालाई शत्रु देखेर एक–अर्काको संहार गर्दै गरेको अवस्थामा रहेको नेपाली काङ्ग्रेस सम्हालिएर आफ्नो अस्तित्व बचाउन सफल भयो भने नै उसले ठूलो उपलब्धि गरेको ठान्नुपर्छ ।

सरकारलाई अर्को डर राष्ट्रवादी, राजावादी जमातको छ अरे ! हो, यो जमात उसलाई चुनौती हुन सक्ने हो । किनभने उसको सत्तारोहणको सिँढी राष्ट्रवाद नै हो । यो जमातले त्यो सिँढी फुस्काउन सक्ने हो, तर त्यो काम गर्दैन । तीमध्ये कोही सत्ताको भागीदार बन्न गएकै हुन्, मौका मिले फेरि जालान् । बाँकी एकले अर्कालाई गालीगलौज गर्दै बसेका छन् । एकले अर्काको कुरै सुन्न तयार छैनन्, त्यसैले कुनै कार्यनीति नै छैन । राष्ट्रवादीहरू जनतामा जानुपर्दछ भन्ने मन्त्र भुलेका छन्, सडकमा बेअर्थी तमासा देखाएर आफैं रनभुल्ल परेका छन् । जबसम्म उनीहरूले आफ्नो मन्त्र भुल्छन् तबसम्म उनीहरूले सिन्का पनि भाँच्न सक्दैनन् ।

यो सबै कुरा थाहा भएर पनि यो सरकार किन लुते भएर काम गर्न सकेको छैन ? यो कुरा नै महत्वपूर्ण हो । सरकारले प्रत्यक्ष देखाएको खतराहरू कुनै खतरा नै होइनन्, असली खतरा त अरू नै छ । खतरा एक एमाले, माके जोडेर बनेको जरासन्धको जोड पक्का छैन । खतरा अर्को, सङ्घीयतालाई उसैका कार्यकर्ताले लखनौ लुट गर्ने आदेश सम्झेका छन् । खतरा अर्को सहयोग गर्ने विदेशी मित्रहरूको आशा र अपेक्षा मुलुकको अस्तित्वभन्दा ठूलो भएर आएको छ । यस्तै, अरू पनि खतरा छन्, र सबैभन्दा ठूलो यो संविधान असफल हुने खतरा छ । यो खतरा जनतालाई भन्न मिल्दैन त्यसैले उनीहरूलाई विपक्षीको झिनो र मसिनो विरोध नै सिंहको गर्जना भएको छ ।