नेपाल र बंगलादेशबीचको विद्युत सम्झौतामा निजी क्षेत्रको उत्साह

नेपाल र बंगलादेशबीचको विद्युत सम्झौतामा निजी क्षेत्रको उत्साह


सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनको क्रममा नेपाल र बंगलादेशबीच ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौतामा बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई आयोजना निर्माण गर्ने उल्लेख गरे अनुरुप नै विद्युत खरिद सम्झौता अघि बढेको छ । शुक्रबार बंगलादेशसँग भएको सम्झौता नेपालको उर्जा क्षेत्रमा कोशेढुंगा सावित हुने देखिन्छ ।

शुक्रबार ऊर्जा मन्त्रालयमा दुईपक्षीय वार्ता भएपछि नेपाल सरकार र बंगलादेशबीच ऊर्जा सहयोग आदान प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र बंगलादेशी ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका हुन् । द्विपक्षीय आर्थिक तथा व्यापारिक विकासमार्फत क्षमता अभिवृद्धि गर्ने, विद्युत उत्पादन, ग्रिड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत विकासमा सहकार्य हुने विषय समझदारीपत्रमा उल्लेख गरिएको छ ।

बंगलादेशले नेपालबाट ५ सय मेगावाट विद्युत् खरिद गर्ने सहमति समेत गरेको छ । तर तत्काल नेपालले बंगलादेशलाई विद्युत दिन सक्ने अवस्था छैन् । तर बंगलादेशले नेपालबाट पाँच हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको जनाएको छ । नेपालले ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा यसअघि भारत र चीनसँग हस्ताक्षर गरिसकेको छ । नेपालको विद्युत् क्षेत्रीय बजारमा समेत लैजाने र बिक्री गर्ने लक्ष्य राखेर नै सरकारले बंगलादेशसँग हस्ताक्षर गरेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले बताए ।

बंगलादेशमा विद्युत् लैजानका लागि भारतको समेत सहमति चाहिन्छ । किनभने भरतीय भुमिबाट मात्र बंगलादेशले विद्युत लैजान सक्छ । त्यसका लागि बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–बंगलादेश उर्जा आदनप्रदानका बारेमा संयुक्त छलफल गर्ने भएका छन् । बंगलादेशसँग भएको सम्झौता नेपालको जलविद्युत क्षेत्रमा सह्रानिय कार्य भएको इपानका निवर्तमान अध्यक्ष खड्गबहादुर विष्ट बताउँछन् ।

बंगलादेश सुनकोशी–२ र सुनकोशी–३ मा लगानी गर्न इच्छुक छ । यी दुई आयोजनाबाट १५ सय मेगावाट भन्दा बढि विद्युत उत्पादन हुन्छ । यस बाहेक बंगलादेशले भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने माथिल्लो कर्णालीको बिजुली लैजान प्रयास गरिहरेकोले अब बंगलादेशलाई जीएमआरसँग बिजुली खरिदको सम्झौता गर्न पनि बाटो खुलेको छ ।