सत्तारुढ दलकै स‍ांसदले यसकारण मागे अर्थमन्त्रीको राजीनामा

सत्तारुढ दलकै स‍ांसदले यसकारण मागे अर्थमन्त्रीको राजीनामा


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।

शुक्रबार नेकपाका सांसद मेटमणि चौधरीले अर्थमन्त्री डा‍.खतिवडालाबाट जनताले आशा गर्ने ठाउँ नरहेको र जनताका माग सम्बोधन हुन नसक्ने भन्दै राजीनामा मागेका हुन् ।

शुक्रबार राजधानीमा भएको प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा सांसद चौधरीले अर्थमन्त्री खतिवडाकै कारण चुनावअघि नेकपाप्रति रहेको जनताको आशा र भरोसा समाप्त हुने अवस्थामा आएको आरोप लगाए । उनले भने, ‘अहिलेको बजेटबाट जनताको माग सम्बोधन हुन सक्दैन । सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ ।’

पछिल्लो समय अर्थमन्त्री खतिवडा आलोचनाको पात्र बन्दै आएका छन् । बजेटमार्फत कर वृद्धि तथा पुँजीबजारको समस्या सम्बोधन गर्न नसकेको जस्ता अनेक आरोप लगाउँदै उनी आलोचनामा पर्ने गरेका छन् ।

यसै क्रममा शुक्रबारको राजीनामा मागसम्मले अर्थमन्त्री सत्तारुढ दलकै नेताहरुको नजरमा पनि योग्य नरहेको जनाउँछ । यद्यपि प्रधानमन्त्री ओलीले भने यस विषयमा सुनेको नसुन्यै गर्दै आएका छन् । शुक्रबार पनि उनले सांसद चौधरीको मागबारे कुनै जवाफ दिएनन् ।

प्रधानमन्त्री ओलीले नेकपाको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताएका थिए । यो अवस्थामा आउनुको दोष उनले अघिल्लो सरकारलाई लगाए ।