सुकुम्बासी जनताले घेरे गाउँपालिका

सुकुम्बासी जनताले घेरे गाउँपालिका


पुनहरि बेल्बासे, भैरहवा

मायादेवी गाउँपालिका वडा नं ८ मा बसोवास गरिरहेका सुकुम्ब्वासी जनताले मायादेवी गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । आफूहरु बसोबास गरिरहेको सरकारी जग्गा एकाएक व्यक्तिको नाममा दर्ता भएको र गाउँपालिकाले यसतर्फ चासो नदेखाएको भन्दै उनीहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

मायादेवी गाउँपालिका वडा नं ८, साविक हाटीबनगाई वडा नं. ५ (क) मा रहेको १६ कठ्ठा ३ धुर सरकारी जग्गामा टहरा बनाएर वर्षौंदेखि बसोबास गर्दै आएका ५० बढी सुकुम्बासी घरपरिवार त्यो जग्गा कसरी व्यक्तिगत नाममा दर्ता भयो त्यसको जवाफ गाउँपालिकाले दिनुपर्ने बताउँछन् ।

हामीसँगबाट तत्कालीन हाटीबनगाई गाविसको कार्यालयले जोतभोग गरेवापतको घरधुरी कर समेत लिएको छ, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीलाई गाविसले सिफारिस गरेको छ र २०७१ सालमा सुकुम्बासी समस्या समाधान आयोगले हाम्रो निवेदन दर्ता समेत गरेको छ भने कसरी २०४६ सालमा त्यो जग्गा व्यक्तिको नाममा भएको हुन सक्छ ? उनीहरुको प्रश्न छ ।

यसबारेमा मायादेवी गाउँपालिकाका प्रमुख ध्रुवनारायण चौधरीले हामी यसतर्फ निकै संवेदनशील छौँ भन्दै सरकारी जग्गा व्यक्तिको नाममा कसरी भयो त्यसबारेमा यही श्रावण २७ गते आइतबार नै समिति बनाएर चाँडै नै छलफल गर्ने बताउँछन् ।

प्राप्त कागजातहरुको आधारमा कित्ता नं. ३५९ र ३६० मा रहेको उक्त जग्गा नवलपरासी जिल्लाका सुरेश अर्यालको नाममा रहेको छ । उक्त जग्गाको लालपुर्जा हराएकोले नियमानुसार जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराइदिनको लागि मायादेवी गाउँपालिका वडा नं ८ को कार्यालयले मिति २०७४ भदौ १९ गते च.नं.१४९ मार्फत मालपोत कार्यालय रुपन्देहीलाई सिफारिस गरेको छ । त्यसैगरी मिति २०७४ असोज २ गते उक्त जग्गाको बैँङ्किङ प्रयोजनको लागि चार किल्ला समेत प्रमाणित गरी दिएको छ । भने त्यसैदिन जग्गाको तिरोसमेत वडा कार्यालयले रसिद नं. २१४६ बाट बुझेको छ ।

तत्कालीन अवस्थामा वडा प्रतिनिधिका रुपमा रहँदा यो जग्गा ऐलानी हो भन्ने सबैलाई थाहा थियो । त्यस जग्गाबाट बाटो दिएवापत त्यहाँ अवस्थित फ्याक्ट्रीहरुबाट गाविसले वार्षिक रु ५० हजार कर लिँदै आएको पनि थियो । तर त्यति थाहा हुँदाहुँदै पनि कसरी सरकारी जग्गा व्यक्तिको नाममा गयो म छक्क परेको छु भन्छन् लामो समयदेखि राजनीति संयन्त्रमा रहनुभएका शंकर ज्ञवाली । ‘यो जग्गा सरकारी हो, मैले त्यही बुझेको छु,’ उनको भनाई छ ।