कांग्रेस भन्छ– सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरियोस्

कांग्रेस भन्छ– सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरियोस्


नेपाली कांग्र्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

उक्त पार्टीको जिल्ला कार्यालयले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेशकुमार यादवले वर्षा र सिँचाइको उचित व्यवस्था नहुँदा यहाँका कृषक मारमा परेको भन्दै सो माग गरिएको बताए ।

जिल्लामा देखिएका विभिन्न समस्या समाधान हुन नसकेको, जिम्मेवार पदमा बसेकाले प्रभावकारी अनुगमन गर्न नसकेको र विकास निर्माणका योजनामा आर्थिक अनियमितता भइरहेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जानकारी दिए ।

जिल्लामा तीनै तहबाट भइरहेका विकास निर्माणका कार्यको समितिबाट प्रभावकारी अनुगमन हुनुपर्नेमा समेत सभापति यादवले जोड दिए ।

पत्रकार सम्मेलनमा स्थानीय नेता ध्रुव देवले राजविराज नगरपालिकाले अदालतको आदेशलाई लत्याउँदै राजनीतिक प्रतिशोधका कारण आफ्नो घर भत्काएको आरोप लगाए ।

नगरपालिकाले पूर्वसूचनाबिना आफ्नो घर तोडफोड गरेको बताउँदै उनले भित्री सडक विस्तारका नाममा आफ्नो घरलाई मात्र लक्षित गरी तोडफोड गरिएकामा आपत्ति पनि जनाए ।

६५ प्रतिशत धान रोपाइँ

साउनको अन्तिम सातासम्ममा सप्तरीको ६५ प्रतिशत जमिनमा मात्र धान रोपाइँ भएको छ ।

यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नभएको र १५ दिनअगाडिको वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीले खेतीयोग्य जमिन डुबानमा परेका कारण जिल्लामा ३५ प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यहाँका किसानले सधैँ आकाशे पानीको भरमा खेती गर्नुपर्दा पनि सरकारले सिँचाइको उचित व्यवस्था गर्न नसकेका कारण अधिकांश खेतीयोग्य जमिन बाँझै रहने गरेको सम्बद्ध कृषकको भनाइ थियो ।

जिल्लामा कुल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये साउनको अन्तिम समयमा ४१ हजार ५ सय हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिए ।

मुलुककै पुरानो नहरका रूपमा रहेको चन्द्रनहर जीर्ण भएको र जिल्लामा रहेका अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनाले खेतीको समयमा खेतमा पानी हाल्न नपाउँदा यहाँ धान रोपाइँ ढिलाइ हुने गरेको कृषकको गुनासो छ ।

त्यस्तै कोसी पश्चिमी नहर वितरण प्रणालीको क्षमताअनुसार १३ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ गर्न सकिने भए पनि ६ हजार ६ सय १६ हेक्टरका लागि मात्र पानी पुग्छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६ सय ६५ हेक्टर तथा सेक्टर सिँचाइले दुई हजार ५ सय हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध हुन्छ ।