एसियाडमा नेपालको तयारी र पदकको चुनौती जस्ताको त्यस्तै

एसियाडमा नेपालको तयारी र पदकको चुनौती जस्ताको त्यस्तै


– श्रीविक्रम भण्डारी

यतिबेला इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुने १८औँ एसियाली खेलकुद प्रतियोगिताले नेपाली खेलकुदलाई पनि तताएको छ । यो प्रतियोगितामा नेपालले २८ खेलमा सहभागिता जनाउँदै छ । एसियाली खेलकुदको इतिहास हेर्दा नेपालले अहिलेसम्म तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक जित्न सफल भएको छ । एसियाडमा नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो पदक रजत हो । उक्त पदक तेक्वान्दोतर्फ सविता राजभण्डारीले जितेकी थिइन् । यसबाहेक नेपालले जितेका अन्य सवै पदकहरू कांस्य मात्र छन् । नेपालले एसियाडमा अहिलेसम्म २३ पदक जितेको छ । जसमा १ रजत र २२ कांस्य पदक छन् । १८औँ एसियाडमा नेपालले ऐतिहासिक सफलता हात पार्ने दाबी सदस्यसचिव केशवकुमार विष्टले गरेका छन् । विष्टले यो १८औँ एसियाडमा नेपालले स्वर्ण लागि प्रयास गर्ने र कम्तीमा पनि २ रजत र ४ कांस्य पदक जित्ने बताउँदै आएका छन् । तर, नेपालकोे तयारी हेर्दा यसपटक पदक जित्ने सम्भावना देखिए पनि कुन र कति पदक जित्छ त्यो अनुमान लगाउन सकिने अवस्था छैन । यसरी एसियाडमा नेपालको तयारी र पदकको चुनौती जस्ताको त्यस्तै देखिएको छ ।

सन १९५१ को पहिलो संस्करणदेखि नै नेपालले एसियाली खेलकुद प्रतियोगितामा सहभागिता दिँदै आएको छ । फिलिपिन्सको मनिलामा भएको दोस्रो संस्करणमा भने सहभागिता जनाएको थिएन । त्यसपछि भएका १७औँ संस्करणसम्म नेपालले एसियन गेम्समा निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ । नेपालले एसियन गेम्समा निरन्तर सहभागिता जनाए पनि नवौँ संस्करणसम्म कुनै पनि पदक जित्न सकेन । एसियन गेम्सको दशौँ संस्करणमा पहिलोपटक पदक जितेको नेपालले १७औँ संस्करणसम्म पदकविहीन हुनुपरेको छैन । एसियाली खेलकुुदको १८औँ संस्करण इन्डोनेसियामा यही भदौ २ गतेदेखि सञ्चालन हुँदै छ ।

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा सञ्चालन भएको एसियाली खेलकुदको पहिलो संस्करणमा नेपालले एथलेटिक्समा मात्र सहभागिता जनाएको थियो । उक्त नेपाली टोलीको सेभ द मिसन नरशमशेर राणा र टोली नेतामा कृष्णबहादुर बर्मा थिए । त्यस्तै नेपाली खेलाडीहरूमा गजराज जोशी, मीनबहादुर विष्ट, गणेशबहादुर, चक्रबहादुर र रामबहादुर थिए । सन् १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो संस्करणमा भने नेपालले सहभागिता जनाएन । किन नजनाएको हो त्यसको कारण अहिलेसम्म गर्भमै छ । एसियाली खेलकुदको तेस्रो संस्करण जापानको राजधानी टोकियोमा आयोजना भएको थियो । सन् १९५८ मा भएको यो प्रतियोगितामा पनि नेपालमा एथलेटिक्सतर्फ मात्रै सहभागिता जनाएको थियो । यो एसियाडमा नेपालका २ जना खेलाडीले सहभागिता जनाएका थिए ।

एसियाली खेलकुदको चौथो संस्करण इन्डोनेसियाको राजधानी जकार्तामा भएको थियो । सन् १९६२ मा भएको यो प्रतियोगितामा नेपालका ८ खेलाडीले सहभागिता जनाएका थिए । ती सबै खेलाडी एथलेटिक्सका थिए । सन् १९६६ मा थाइल्यान्डको राजधानी बैंककमा एसियाली खेलकुदको पाँचौँ संस्करणको आयोजना गरिएको थियो । यो प्रतियोगितामा नेपालको तर्फबाट ११ जना खेलाडीले सहभागिता जनाएका थिए । बैंकक एसियाडमा नेपालले तीनवटा खेल एथलेटिक्स, टेबुलटेनिस र ब्याडमिन्टनमा प्रतिस्पर्धा गरेको थियो । एसियाली खेलकुदको छैटौँ संस्करण पनि सन् १९७० मा थाइल्यान्डको राजधानी बैंककमा आयोजना भएको थियो । यो एसियाडमा नेपालले दुईवटा खेल एथलेटिक्स र ब्याडमिन्टनमा मात्रै सहभागिता जनाएको थियो । यो प्रतियोगिता १४ जना खेलाडीले सहभागिता जनाएका थिए ।

त्यस्तै, सन् १९७४ मा इरानको राजधानी तेहरानमा एसियाली खेलकुदको सातौँ संस्करणको आयोजना भएको थियो । तेहरान एसियाडमा नेपालले चारवटा खेल एथलेटिक्स, ब्याडमिन्टन, टेबुलटेनिस र लनटेनिसमा सहभागिता जनाएको थियो । एसियाली खेलकुदको आठौँ संस्करण सन् १९७८ मा थाइल्यान्डको राजधानी बैंककमा आयोजना भएको थियो । यो एसियाडमा नेपालले एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, भारोत्तोलन, भलिबल, टेबुलटेनिस, लनटेनिस, जिम्न्यास्टिक्स गरी आठ खेलमा सहभागिता जनाएको थियो । यो एसियाडमा तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष शरदचन्द्र शाहले नेतृत्व गरेका थिए । नवौँ एसियाली खेलकुद प्रतियोगिता सन् १९८२ मा भारतको राजधानी नयाँदिल्लीमा भएको थियो । यो एसियाडमा नेपालले एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, भारोत्तोलन, भलिबल, टेबुलटेनिस, लनटेनिस, जिम्न्यास्टिक्स फुटबल, सुटिङ र पौडी गरी ११ खेलमा सहभागिता जनाएको थियो ।

एसियाली खेलकुदको दशौँ संस्करण सन् १९८६ मा दक्षिण कोरियाको राजधानी सिउलमा भएको थियो । यो एसियाडमा नेपालले १२ खेलमा सहभागिता जनाएको थियो । नेपालको लागि ऐतिहासिक बनेको यो एसियाडमा नेपालले ८ वटा कांस्य पदक जितेको थियो । पहिलोदेखि नवौँ एसियाडसम्म खाली हात फर्किएको दशौँमा बक्सिङ र तेक्वान्दोमा कांस्य पदक जितेर एसियाडमा पदकको खडेरीलाई समाप्त गर्दै खाता खोलेको थियो । उक्त एसियाडमा बक्सिङतर्फ दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल, मनोजबहादुर श्रेष्ठ कांस्य पदक जितेका थिए । त्यस्तै, तेक्वान्दोतर्फ विधान लामा, राजकुमार राई, राजकुमार घर्तीमगर (क्षेत्री) र रामकुमार बुढाथोकीले कांस्य पदक जितेका थिए ।

सन् १९९० मा चीनको राजधानी बेइजिङमा एसियाली खेलकुदको ११औँ संस्करणको आयोजना भएको थियो । यो एसियाडमा नेपालले १० वटा खेलमा सहभागिता जनाएको थियो । दशौँ सागमा ८ वटापदक जितेको नेपालले बेइजिङ एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिए पनि परिणाम त्यस्तो आउन सकेन । यो एसियाडमा नेपाल एउटा कांस्य पदकमै सीमित भएको थियो । नेपालका चित्रबहादुर गुरुङले बक्सिङ खेलमा कांस्य पदक जितेर नेपाललाई पदकविहीन हुनबाट जोगाएका थिए । एसियाली खेलकुदको १२औँ संस्करण सन् १९९४ मा जापानको हिरोसिमामा आयोजना गरिएको थियो । यो एसियाडमा नेपालले ९ वटा खेलमा सहभागिता जनाएको थियो । नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिए पनि यो एसियाडमा पनि नेपाल दुईवटा कांस्यमै सीमित भएको थियो । उक्त दुई कांस्य पदक तेक्वान्दोतर्फ मानबहादुर शाही र करातेकी सीता राईले जितेका थिए ।

सन् १९९८ मा थाइल्यान्डको राजधानी बैंककमा १३औँ एसियाली खेलकुदको आयोजना भएको थियो । नेपालले यो एसियाडमा १३ खेलमा सहभागिता जनाएको थियो । यो एसियाडमा नेपालले १ रजतसहित ४ पदक जितेको थियो । नेपालले यो एसियाडमा ऐतिहासिक रजत पदक जितेको थियो । नेपाललाई उक्त ऐतिहासिक रजत पदक तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी थिइन् । त्यस्तै, तेक्वान्दोतर्फ नै किशोर श्रेष्ठ र सपना मल्लले कांस्य पदक जितेका थिए । यसैगरी करातेले पनि पहिलोपटक एसियाडमा पदक जितेको थियो । उक्त कांस्य पदक समरबहादुर गोलेले जितेका थिए ।

एसियाली खेलकुदको १४औँ संस्करण सन् २००२ मा दक्षिण कोरियाको बुसानमा आयोजना भएको थियो । यो एसियाडमा नेपालले ११ खेलमा सहभागिता जनाएको थियो । सहभागिता जनाएका १० खेलहरू पदकविहीन भए पनि तेक्वान्दोले भने ३ वटा कांस्य पदक जित्न सफल भएको थियो । तेक्वान्दोका दीपक विष्ट, रेनुका मगर, रीतु जिमी राईले कांस्य पदक जितेका थिए । सन् २००६ को एसियाली खेलकुद प्रतियोगिता कतारको दोहामा सम्पन्न भएको थियो । यो एसियाडमा नेपालले १३ खेलमा सहभागिता जनाए पनि तेक्वान्दोले मात्रै पदक जित्न सफल भएको थियो । तेक्वान्दोको तर्फवाट दीपक बिष्ट, मनिता शाही र आयषा शाक्यले कांस्य पदक जितेका थिए । एसियाली खेलकुदको १६औँ संस्करण चीनको ग्वाङझाउमा सन् २०१० मा सम्पन्न भएको थियो । नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखिए पनि नतिजा भने सोबमोजिम आएन । नेपाल एउटा कांस्य पदकमा सीमित भयो । उक्त कांस्य पदक बक्सिङमा दीपक महर्जनले जितेका थिए । एसियाली खेलकुदको सत्रौँ संस्करण सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा आयोजना भएको थियो । यो एसियाडमा पनि नेपालले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन । नेपाल एउटा कांस्य पदकमै सीमित भएको थियो । उक्त कांस्य करातेकी विमला तामाङले जितेर नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् ।

एसियाली खेलकुदको १८औँ संस्करण इन्डोनेसियामा आगामी भदौ २ गतेदेखि सञ्चालन हुँदै छ । यो एसियाडमा नेपालले २८ खेलहरू आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकताक्रो, उसु, स्पोर्टस् क्लालिबिङ, प्याराग्लाइडिङ, कुराँस, पेनकेनसिताल र स्केटबोर्डले सहभागिता जनाएको छ । यसरी एसियाली खेलकुद प्रतियोगितामा नेपालले अहिलेसम्म तीनवटा खेल तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक जित्न सफल भएको छ । यो १८औँ एसियाडमा नेपालले कस्तो प्रदर्शन गर्छ त्यो परिणामले बताउनेछ ।