तेक्वान्दोले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक विष्टको दाबी

तेक्वान्दोले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक विष्टको दाबी


एसियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक एक रजतसहित १४ पदक जित्न सफल तेक्वान्दो खेलका खेलाडी यतिबेला दक्षिण कोरियामा विगत तीन महिनादेखि वैदेशिक प्रशिक्षणमा छन् । इन्डोनेसिया एसियाडमा सम्भावित पदक जित्ने खेलको पहिलो नम्बरमा रहेको तेक्वान्दो खेलको आगामी १८औँ एसियाडमा कस्तो प्रदर्शन गर्ला त्यो अहिले चासोको विषय बनेको छ । प्राप्त जानकारीअनुसार यसपटक तेक्वान्दोको वैदेशिक प्रशिक्षण निकै उत्कृष्ट भएकोले पदक जित्ने सम्भावना देखिएको छ ।

एसियाली खेलकुदमा तेक्वान्दोले सन् १९८६ मा दक्षिण कोरियाको सिउलमा आयोजित एसियाली खेलकुदको १०औँ संस्करणमा पहिलोपटक ४ कांस्य पदक जितेर खाता खोलेको थियो । सन् १९९० को बेइजिङ एसियाडमा तेक्वान्दोबाट पदकको निकै आशा गरिए पनि तेक्वान्दो पदक जित्न असफल भएको थियो । त्यसपछि सन् १९९४ को जापानको हिरोसिमा एसियाडमा तेक्वान्दो १ कांस्य जितेको थियो ।

तेक्वान्दोले सन् १९९८ मा थाइल्यान्डको बैंककमा आयोजना भएको १३औँ एसियाडमा ऐतिहासिक १ रजतसहित २ कांस्य जितेको थियो । त्यसपछि सन् २००२ मा दक्षिण कोरियाको बुसान एसियाड र सन् २००६ मा कतारको दोहा एसियाडमा ३–३ कांस्य पदक जितेको थियो । तर, विगतमा सञ्चालन भएका दुई एसियाडमा भने तेक्वान्दो पदकविहीन बनेको छ । सन् २०१० को चीनको ग्वाङझाउ र सन् २०१४ मा कोरियाको इन्चोन एसियाडमा तेक्वान्दो पदकविहीन बनेको हो । यी दुवै एसियाडमा तेक्वान्दो खेलाडी दोस्रो राउन्डमा समेत प्रवेश गर्न असफल भएका थिए ।

विगतका दुई एसियाडमा तेक्वान्दो पदकविहीन भएपछि यो तेक्वान्दो साखमा दाउमा लागेको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सर्वाधिक स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेको तेक्वान्दो गत वर्ष भारतको ग्वाहाटी र सिलोङमा सम्पन्न साग गेम्समा स्वर्ण पदकविहीन बनेको थियो । तेक्वान्दोका आठजना खेलाडी फाइनलमा प्रवेश गरे पनि स्वर्ण पदक जित्न असफल भएका थिए । परिणाम पहिलोपटक तेक्वान्दो साग गेम्स स्वर्ण पदकविहीन बनेको थियो । तेक्वान्दो विगतको यस्तो प्रदर्शनले गर्दा पनि १८औँ सागमा पदक जित्ने कुरामा ठोकुवा गर्न सक्ने अवस्था छैन ।

यही कुरालाई मध्यनजर गर्दै हाल कोरियामा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षक दीपक विष्टसँग सम्पर्क गर्दा उनले भने, ‘यसपटक उत्कृष्ट प्रशिक्षण भएको छ, खेलाडीहरूले निकै मिहिनेत गरेका छन्, पदक जित्ने निकै सम्भावना छ ।’ नेपालले तेक्वान्दोमा कतिवटा पदक जित्छ भन्ने प्रश्नमा विष्टले त्यो त ठोकुवा गरेर भन्न सकिँदैन, तर तेक्वान्दो खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा आफू ढुक्क भएको बताए ।

विष्टले सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियाडको चर्चा गर्दै उक्त एसियाडमा आफूलाई पदकको प्रमुख दाबेदार खेलाडीको रूपमा राखिएको थियो, तर आफूले पदक जित्न नसकेको बताए । जसको कल्पना पनि गरिएको थिएन, ती खेलाडीले पदक जिते । त्यसैले यो एसियाडमा पनि यो नै खेलाडीले पदक जित्छ भनेर किटान गर्न सकिँदैन, भाग्यले पनि साथ दिनुपर्ने विष्टले बताए । अर्को कुरा यो खेल हो, खेलमा जे पनि हुन सक्छ, त्यसको उदारहण सविता राजभण्डारी भएको पनि बताए ।

यसरी विष्टले सम्भावित पदक विजेताको सूचीमा रहेको तेक्वान्दोले १८औँ एसियाडमा पदक जित्ने कुरामा ठोकुवा गर्न नसके पनि यसपटक तेक्वान्दो टोली निकै उत्कृष्ट भएको र उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे । अब विष्टको दाबीले कत्तिको रंग देखाउँछ त्यो परिणामले देखाउनेछ । हेरौँ, विगतको इतिहास दोहो¥याउन तेक्वान्दो सफल हुन्छ कि ग्वाङझाउ र इन्चोन एसियाडकै ताल र सुरमा अगाडि बढ्छ त्यसको प्रतीक्षा गर्नु नै उचित देखिन्छ ।