सीमानाकामा सहायता कक्ष स्थापना गर्न नेपाल र भारत सहमत

सीमानाकामा सहायता कक्ष स्थापना गर्न नेपाल र भारत सहमत


चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सीमानाकामा सहायता कक्ष स्थापना गरिने भएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा आज (शुक्रबार) सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् ।

हातहतियार, लागूऔषध ओसारपसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रूपमा गस्ती गर्न र जनमैत्री व्यवहारका निम्ति सुरक्षा कर्मचारीलाई तालिमको व्यवस्था गर्न पनि दुवै देश सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उच्च नेतृत्व र कार्यक्षेत्रमा खटिएका अधिकारीबीच नियमित छलफल तथा अनुगमन गर्न पनि दुवै देशका सुरक्षा बल सहमत भएका छन् । चौथो परामर्श बैठक अर्को वर्ष नेपालमा हुनेछ ।