धादिङ जिल्ला अस्पतालमा पञ्जासमेत बिरामीले किन्नुपर्ने बाध्यता

धादिङ जिल्ला अस्पतालमा पञ्जासमेत बिरामीले किन्नुपर्ने बाध्यता


धादिङ जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आईभी सेट, सुई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताइन् ।

बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाए पनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्योलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।

नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालमा दैनिक आउने करिब दुई सय बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब रु. ७० लाख आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो ।