प्रकाण्डको गिरफ्तारीबारे बोले बादल

प्रकाण्डको गिरफ्तारीबारे बोले बादल


विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आपराधिक गतिविधि गरेका कारण पक्राउ गर्नुपरेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको दाबी गरे ।

‘कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्’ भन्दै एक प्रश्नमा मन्त्री थापाले भने ‘म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।’ विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले जानकारी दिए । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक रुपमा र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाको तर्क छ ।

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएकोपनि उनले बताए । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उनले भने, ‘फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।’

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताए । गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको दाबी गरे । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद व्यवस्थापनमा सरकार लागिपरेको जानकारी दिए ।

तस्बिर रासस