यमनमा बालबालिका बोकेको गाडीमा आक्रमण्, दर्जनौँको मृत्यु

यमनमा बालबालिका बोकेको गाडीमा आक्रमण्, दर्जनौँको मृत्यु


यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ । उक्त घटनामा कैयौँ बालबालिका घाइते भएको बताइएको छ ।

आइसीआरसीले आफ्नो ट्वीटर पेजमा लेखेको छ, “दहमयान बजारतर्फ बालबालिकालाई लिएर हिँडेको बसमा हवाई आक्रमण भएपछि उत्तरी सादास्थित आइसीआरसीद्वारा सहयोगप्राप्त एक अस्पतालमा दर्जनौं मृतक बालबालिकालाई पु¥याइएको छ । घटनामा दर्जनौं व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको पनि ट्वीटरमा उल्लेख छ ।”

सन्देशमा थप भनिएको छ, “अन्तराष्ट्रिय मानवीय कानूनले युद्धमा गैरलडाकू व्यक्तिमाथिको आक्रमण निन्दनीय मानिन्छ । गैरलडाकू व्यक्तिको सुरक्षा युद्धको अनिवार्य शर्त हो ।”

यमनी हुथी विद्रोहीद्वारा सञ्चालित अल मसिरा टेलिभिजनले घटनामा ३९ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको जनाएको छ । उक्त टेलिभिजनअनुसार मृतक तथा घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् ।

यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।

घटनामा कसको हात रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको छ । गठबन्धनबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुनेगरी भएको भन्ने प्रारम्भिक रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ ।

यूनिसेफका यमनका लागि आवासीय प्रतिनिधिले ट्वीटमा भनेका छन्, “किन बालबालिका सैनिक निशानामा परेका छन् । किन उनीहरू मारिन्छन् यसको जवाफका लागि मसँग केही शब्द छैनन् ।”

गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका आइसीआरसीले बताएको छ ।

गठबन्धनले ती आक्रमणमा आफ्नो सम्लग्नता नरहेको बताउँदै आएको छ । यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसकोे मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रसङ्घले यमनमा मानवीय सङ्कट विश्वकै नराम्रो अवस्थामा रहेको जनाएको छ । रासस/एएफपी)