आफूले पाए ठीक अरूले पाए बेठीक : दानव

आफूले पाए ठीक अरूले पाए बेठीक : दानव


पछिल्लो पुस्ताका चर्चित फुटबल खेलाडी राजेश मानन्धर (दानव) यतिबेला चर्चाको शिखरमा छन् । उनले फेसबुकमा राखेको स्टाटस ‘आफूले पाए ठीक, अरूले पाए बेठीक’ भन्ने शीर्षकले यतिबेला निकै चर्चा पाएको छ । साथै यो देशको लागि फुटबलमा योगदान गर्ने के एकजना मात्रै खेलाडी छ ? भनेर प्रश्नसमेत गरेका छन् । जुन अहिले फुटबलमा गलफत्ती गर्नेहरूका लागि चोटिलो प्रहारसमेत बनेको छ ।

राजेशले आफु फुटबलको हस्ती भएर पनि अहिलेसम्म कुनै अवसर नपाएको खुलासा गरेका छन् । साथै राज्य र सम्बन्धित निकायले आफूलाई केही नगरे पनि फुटबलप्रतिको आफ्नो मोह कायमै रहेको आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । उनले लेखेका छन्, ‘मैले फुटबल खेलेर मान, सम्मान र प्रतिष्ठा पाएको छु, फुटबलप्रेमीहरूबाट माया र नाम पाएको छु । साथै फुटबल खेलेकै कारण ‘दानव’को उपनामले चिनिन पनि सफल भएको छु । मैले फुटबल खेलेर कमाएको सम्पत्ति पनि यही हो, यसमा म गर्व गर्छु ।’

गत साता चर्चित फुटबल खेलाडी राजु शाक्यले फुटबलप्रति मोहभंग भएको बताएपछि अहिले फुटबलको माहोल तातेको छ । राजु शाक्य नेपाली फुटबलका त्यस्ता भाग्यमानी खेलाडी हुन् जसले निरन्तरत पहिलोदेखि सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) सम्म निरन्तर दुई दशक खेलाडीको रूपमा राष्ट्रिय टिमबाट फुटबल खेलेका थिए । त्यसपछि लगातार दुई दशक राष्ट्रिय जुनियर र सिनियर फुटबल हेर्ने मौका पाएका थिए । यसरी चार दशकभन्दा पनि बढी समय फुटबलको सेवा गर्ने अवसर पाएका राजुको यतिबेला फुटबलप्रति किन मोहभंग भएको हो ? त्यो यतिबेला निकै चासोको विषय बनेको छ । राजुले फुटबलबाट पाएका मात्र छन्, गुमाएका केही छैनन् । यस्तो अवस्थामा पनि राजुको फुटबलप्रति मोहभंग हुनु आफैँमा चर्चाको विषय बनेको छ ।