प्रकाण्डको गिरफ्तारी निन्दनीय : मोहन वैद्य

प्रकाण्डको गिरफ्तारी निन्दनीय : मोहन वैद्य


नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) ले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित तीनजनालाई साउन २२ गते सरकारले गरेको गिरफ्तारीप्रति घोर विरोध एवं भत्र्सना गरेको छ ।

हिजो बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) ले सो विरोध जनाएको हो । पार्टी महासचिव मोहन वैद्य किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरूलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण, निन्दनीय र दुःखद विषय हो । हाम्रो पार्टी यसप्रकारको गिरफ्तारीको घोर विरोध एवं भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्डलगायत सबै नेता तथा कार्यकर्ताको बिनासर्त अविलम्ब रिहाइ गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

यसैगरी नेपाली जनप्रगतिशील मोर्चा, मलेसियाले पनि सरकारको यस कार्यको भत्र्सना गरेको छ । आज बिहीबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले गिरफ्तारीमा परेकाहरूको बिनासर्त रिहाइको जोडदार माग गरेको छ ।

मोर्चाका महासचिव अर्जुन सुवेदीको हस्ताक्षर रहेको सो विज्ञप्तिमा भनिएको छ, ‘मान्छे थुन्न सकिएला, विचार थुनेको इतिहास दुनियाँमा कहीँ कतै छैन । यस घटनाले विवेकको प्रयोग होइन, आवेग बढाएको छ । चेतना होइन, उत्तेजना सिर्जना गरेको छ ।’

‘हामी पसिना बगाइरहेका युवालाई रगत बगाउन बाध्य नबनाइयोस् । दमनले द्वन्द्व र द्वन्द्वले खराब शासकहरूको अन्त्य गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

उनीहरू दक्षिणकालीबाट काठमाडौं आउने क्रममा मंगलबार साँझ ७ः३० बजे काठमाडौंस्थित चोभारबाट पक्राउ परेका थिए ।