सिड्नीमा ‘१९७४ एडी ओर्जिनल डो’ सम्पन्न

सिड्नीमा ‘१९७४ एडी ओर्जिनल डो’ सम्पन्न



राजन घिमिरे

अष्ट्रेलियामा प्रायशः हरेक हप्ता जस्तो मनोरन्जनात्मक कार्यक्रम हुने गर्दछ । अझ त्यसमा पनि सिड्नी त अत्याधिक कार्यक्रम हुने शहरमा नै पर्ने गर्दछ । नेपालीहरुको बाक्लो बस्ती भएकाले पनि स्थानीय वा नेपालबाट कार्यक्रममा सहभागी हुन जाने कलाकर्मीहरुको राम्रै माग छ सिड्नीमा । त्यसो त कार्यक्रम त हुन्छन् तर सबै कार्यक्रमले भने तारिफ कमाउन सक्दैनन् ।

मागमा परेका वा चर्चा पाएका कलाकारहरुलाई उपस्थित गराउन सकियो भने अष्ट्रेलियावासी प्रवासी नेपालीहरू कार्यक्रममा मानव सागर झैं उर्लनु हुँदोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण यसै साता लुना पार्क सिड्नीमा भब्य रूपमा सम्पन्न ‘१९७४ एडी ओर्जिनल डो’ कार्यक्रमले प्रस्तुत गरेको छ ।

प्रवासमा रहेका नेपालीहरू माझ राम्रै मान र शान कमाएको सांगीतिक ब्याण्ड १९७४ एडीसंग आवद्ध कलाकर्मीहरुको प्रस्तुति हेर्न सिड्नीको लुना पार्कमा सिड्नीवासी नेपालीहरुको ‘वाह’ गर्न लायककै भीड जम्मा भयो । ‘यस्तो बृहत सांगीतिक कार्यक्रम न पहिला हेरिएको थियो न अब हेर्न पाइएला । साँच्चै हामीहरू ह्याप्पी छौँ’, कार्यक्रम हेर्न आएका दर्शकहरूको प्रतिक्रिया यस्तो थियो ।

सिड्नीको लुना पार्क हल भब्य मात्र छैन कि महँगो पनि छ र, यो हलमा कार्यक्रम गर्न पाउनुलाई कलाकारहरूले अवसरको रूपमा पनि लिन्छन् । यस्तो अपसर हात पारेको १९७४ एडी सांगीतिक ब्याण्डका कलाकर्मीहरू पनि कम प्रसन्न छैनन् । यस्तो हलमा कार्यक्रमको आयोजना गर्नु भनेको आर्थिक रूपले जोखिम उठाउनु पनि हो । ुहामीले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई स्तरिय कार्यक्रम दिने उद्देश्यले कार्यक्रम गरेका थियौं । यो मामिलामा हामी सफल भयौँ,’ आयोजकमध्यका एक ‘हो र होइन होला’ इभेन्टसका रोशन भट्टराईले भने ।

‘१९७४ एडी ओर्जिनल डो’ नामक यो कार्यक्रमा सहभागी हुन नेपालबाट फिरोज सेगंदेन र एड्रिन प्रधानको साथमा कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी र डान्सर सुशान्त खत्री पुगेका थिए । कँडेल कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको यो कार्यक्रमको आयोजना हो र होइन होला ईभेन्टस, नमस्ते इन्टरटेनमेन्ट र रोटेपिगंले गरेको थियो ।

अष्ट्रेलियामा आयोजना गरिने कार्यक्रममा प्रायशः दुई सय दर्शकहरू जुटाउन पनि गाह्रो पर्ने अवस्थामा यो कार्यक्रममा पच्चीस सय भन्दा बढी दर्शकहरूलाई एउटै थलोमा तान्न आयोजक सफल भएको थियो ।

‘थोरै कार्यक्रम गर्ने तर अविष्मरणीय र तारिफ गर्न लायकको कार्यक्रम गर्ने योजनाका साथ हामी अगाडि बढेका छौँ र हाम्रो यो सोचमा अष्ट्रेलियामा रहनुभएका नेपालीले साथ दिनुभएको छ’, रोशन भट्टराईले भने । यो कार्यक्रमको भिसा पार्टनरको रूपमा भने एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसले साथ दिएको थियो ।