नेकपा प्रवक्ता प्रकाण्डसहित तीन पक्राउ

नेकपा प्रवक्ता प्रकाण्डसहित तीन पक्राउ


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । दक्षिणकालीबाट काठमाडौं आउने क्रममा उनी हिजो (मंगलबार) साँझ ७ः३० बजे काठमाडौंस्थित चोभारबाट गाडीसहित पक्राउ परेका हुन् । उनीसँगै उनका सहयोगी हरिषचन्द्र आचार्य र गाडीचालक मीनबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरूलाई आज (बुधबार) नै म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगिएको छ ।

उनी पक्राउ परेपछि आज बुधबार पेस्तोलसहित आएका प्रहरीले उनको कपनस्थित डेरामा छापा मारेको छ । यसैगरी आर्थिक कमिटीका सेक्रेटरी प्रेम दर्नालको ललितपुरस्थित डेरामा पनि आजै प्रहरीले छापा मारेको छ । उनी पक्राउ परेको पुष्टि महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले गरेका छन् ।

यसअघि नागढुंगाबाट नै पार्टीका पोलिटब्युरो मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीर पनि पक्राउ परेका थिए । त्यस्तै पोलिटब्युरो सदस्यहरू पदम राई र ओमप्रकाश पुन पनि पक्राउ परिसकेका छन् ।