सडकपिच्छे लगातारको पहिरोले जनजीवन कष्टकर

सडकपिच्छे लगातारको पहिरोले जनजीवन कष्टकर


– किशोर बुढाथोकी / सिन्धुपाल्चोक

– बर्खा लागेसँगै अविरल वर्षाका कारण पहिरो जाँदा सोमबार अरनिको राजमार्गअन्तर्गतको बलेफीमा पहिरो जाँदा तीन घन्टा सवारी आवागमन बन्द भयो । सवारी ठप्प हुँदा सिन्धुपाल्चोक मात्रै नभई दोलखा, रामेछाप जाने यात्रुहरू मर्कामा परे ।

– नेपाल–चीन जोड्ने सीमा गाउँ तातोपानी भूकम्प, भोटेकोसी बाढीपछि तङ्ग्रिँदै थियो । सुचारु भइसकेको सडकमा यो बर्खाले फेरि पहिरो ल्याउँदा पटकपटक अवरुद्ध बन्यो । जसकारण सर्वसाधारणलाई पैदल हिँड्न मात्रै मुस्किल परेन बिमारीका लागि औषधि किन्न जानसमेत सास्ती व्यहोर्नुप¥यो ।

– जिल्लाको जुगल गाउँपालिकाका झन्डै ७५ प्रतिशत स्थानमा अहिले सवारी गुड्दैनन् । बलेफी गाउँपालिका र जुगल जोड्ने खोलाको पुलको निर्माण हुन नसक्दा विकट गाउँहरू पाङताङ, बराम्ची, गोल्चे, गुम्बालगायतका गाउँबासी समस्यामा छन् । उनीहरू झन्डै दुई दिनको पैदलपछि मात्रै खाद्यान्न, लत्ताकपडा र औषधि लिन बजार आइपुग्ने गर्छन् ।

– महिनादिनअघिको लगातार वर्षाले तातोपानी जोड्ने लार्चा, नौकिलो, दशकिलो, पोप्लाङ कोदारी, लिपिङका सडक ध्वस्त बनेका छन् । सामान्य रूपमा आइरहेको बाढीले सडक कटानका साथै माथिबाट झरिरहने पहिरोले आवतजावतमा समस्या छ । पैदल हिँड्न पनि हत्केलामा ज्यान राखेर हिँड्नुपर्ने अवस्था छ । विद्युत् र मोबाइल नेटवर्कसमेत छैन ।

– जिल्लाको पर्यटकीय गाउँ हेलम्बु जोड्ने तिम्बु सडक लगातारको वर्षाले प्रभावित बनेको छ । तिम्बु खोलामा रहेको पक्की पुल जीर्ण भएका कारण सवारी आवागमनमा निकै समस्या छ । बाढीले तिम्बु पुललाई कटान गर्दै लगिरहेकाले हलुका सवारी पनि आवतजावत गर्न कठिनाइ छ ।

यी जिल्लामा अहिलेको बर्खाले पारेका प्रतिनिधि समस्या हुन् । लगातारको अविरल वर्षाका कारण अहिले जिल्लैभर समस्या छ । जिल्लाका विभिन्न गाउँका शाखा सडकमा पहिरो झरिरहेको अवस्थाले पैदल हिँड्नसमेत धौधौ छ । अविरल वर्षाका कारण तङ्ग्रिएको सीमाक्षेत्रको अवस्था पुरानै स्वरूपमा फर्किएको छ । भूकम्प, बाढीदेखि हाल बर्खे पहिरोले भास्सिइरहेको कोदारी राजमार्ग अघिल्लो वर्षजस्तै बर्खाको दोस्रो सातादेखि ठप्प बनेको छ ।

‘उताका स्थानीयले आउनलाई माथिको गाउँ हुदै डेढ घन्टाको यात्रा गर्नुपर्छ,’ अरनिको राजमार्गस्थित नौकिलोमा भेटिएकी भोटेकोसी गाउँपालिकाकी तातोपानीकी कुलमाया तामाङले माथितिर इसारा गर्दै भनिन् । वर्षाको कारणले ठाउँठाउँमा सडक झरेपछि वृद्धवृद्धा, बालबालिका र बिरामीलाई यात्रा गर्नै हम्मे पर्ने गरेको उनले सुनाइन् ।

‘हेर्नुस् न यहाँको सडक कोसीको कटान र पहिरोले खाइहाल्यो, सडक बन्न कति समय लाग्ने हो, सधैं यसरी कतिन्जेल हिँड्नु,’ उनले दुःखेसो पोखिन् । भोटेकोसी जलविद्युत्ले सडकको पुनर्निर्माणलाई तत्कालै थालिरहेको भए पनि अझै धेरै सयम लाग्ने उनको भनाइ छ । नौकिलोस्थित सडक झन्डै सय मिटर भास्सिएर खसेको छ । उताका पोप्लाङ सडकको पूरा भूभाग लार्चा खोलाले बगाएपछि सीमाका बजारसँग सम्पर्क टुटेको छ । ‘नौकिलो कटेपछि त नेटवर्क, बिजुली केही छैन, अरू त अरू पैदल हिँड्न ज्यानको माया मार्नुपर्छ,’ उनले भनिन् ।

यहाँको नौकिलोस्थित सडक झन्डै सय मिटर भास्सिएर खसेको छ । बजारअघिको राजमार्गको पोप्लाङखण्ड खोलाले बगाएर बजारसँग सम्पर्क टुटाएको छ । नौकिलोबाट चार घन्टा हिँडेपछि तातोपानी बजार पुग्न सकसपूर्ण रहेको तातोपानी स्थानीय शिवबहादुर श्रेष्ठले गुनासो पोखे । ‘लिपिङ, तातोपानी बजारअघिको मात्रै होइन, बजारछेवकै भूभाग पूरा भास्सिसकेको छ । भूकम्प र बाढीको त्रासले गर्दा राजधानी पलायन भएका गाउँका अधिकांश परिवार आफ््नै थलो फर्केका थिए । आहिले धमाधम सडक कटान र पहिरो बग्नाले गर्दा पुनः भाग्ने तरखरमा पुग्न थालेका छन् ।

बर्खाको वर्षाले झरेको पहिरो र पूर्वाधार अभावमा सीमाक्षेत्रका बासिन्दा दोहोरो मारमा परेका देखिन्छन् । आयोजना र सडक डिभिजनद्वारा सडक पुनर्निर्माण अस्थायी हुने गरेकाले सीमाको अवस्था दयनीय बन्दै गएको छ । यतबाट दर्जनौँ पहिरो छिचोलेर तातोपानी बजार पुगेका स्थानीयको कोदारीछेउको सुक्खा पहिरोले सातो लिन्छ ।

खण्डहरमा परिणत भइसकेको यहाँको भन्सार, क्वारेन्टाइन कार्यालय भवनदेखि बैंक, होटेलका भवनको तल्लो कटान बढ्दै गइरहेको छ । मितेरी पुल अगाडिको पहरो फुटेर झर्न थालेपछि यहाँ वारपार गर्न बन्देज गरिएको सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णगोपाल गुरुङले बताए । ‘तातोपानी र लिपिङमा ठूलाठूला ढुङ्गा खसेर सडक पूरा ढाकेको छ, यहाँको सबै घरभित्रै प्वाल बनाएको छ,’ गुरुङले भने । असुरक्षा हुने भएकाले केही सेना भन्सार कार्यालय अगाडि तैनाथ राखेर अन्य उद्धारार्थ सेना र प्रहरी स्थानस्थानमा तयारी हालतमा राखेको उनले सुनाए । ‘बर्खामा जे पनि हुन सक्छ त्यसैले यो इन्तजाम गरिएको छ,’ उनले भने ।

पहिरोको जोखिम भए पनि अन्यत्र जाने स्थान नभएपछि लिपिङ बजारमा पाँच परिवार बस्न थालेका छन् । मितेरी पुलमा भोटेकोसीका सतह बढेको सूचना दिने मेसिन जडान गरेपछि रातभर चौकन्ना भएर बसिरहेको उनले प्रस्ट्याए ।

बर्खासँगै उपचारको पिरलो

धम्कीले च्यापेपछि भोटेकोसी गाउँपालिका तातोपानी दुगुनागढीकी (६०) डोल्मा शेर्पाले उपचार गर्न जाने योजना बनाएको साता दिन बित्नै लाग्यो । बजारछेउको स्वास्थ्य चौकी र मेडिकलमा सिटामोलबाहेकका अरू औषधि नपाउने र बाटोपिच्छै खसिरहेको पहिरो झनै पैदल हिँडेर यात्रा गर्नुपर्ने पिरले उनले उपचारार्थ बजार जान आँटिहालेकी छैनन् ।

‘प्रत्येक बर्खामा यही समस्या दोहोरिन्छ, एक त सवारीसाधन नआउने अर्को पहिरोको जोखिम,’ शेर्पाले गुनासो पोखिन्, ‘उपचार पाए बाँचिने हो त्यसैले पनि बाह्रबिसे बजार पुग्नैप¥यो ।’ पहिरोमुनि रहेको दुगुनागढीबाट तीन घन्टाको जोखिममय बाटो पार गरेपछि चाकु बजार या झ्यालेभिरबाट केही निजी सवारीसाधन पाउने सम्भावना रहेको उनले सुनाइन् ।

‘त्यही पनि सधैँ पाइँदैन, संयोगवश बोलेरो पाइए पनि चढ्न धेरै महँगो पर्ने गर्छ,’ उनले भनिन् । भूकम्प, भोटेकोसी बाढीपछि बर्खापिच्छै पहिरोको जोखिमले गर्दा कोदारी राजमार्ग यातायातको बन्द हुने गर्छ ।

चाकुको माथिल्लो टोलकी करुणा तामाङ दुई वर्षको छोरालाई ज्वरो आएपछि आत्तिने गर्छिन् । ‘यहाँ उपचार पाइँदैन, बाह्रबिसे नपुगी धेरै हुन्न, साधन नपाउँदा खुब आत्तिन्छु,’ उनले भनिन् । सामान्य सिटामोल, मलमपट्टीबाहेक अन्य औषधि स्वास्थ्य चौकीमा नपाउने भएपछि अधिकांश बाह्रबिसे बजार पुग्ने गरेको उनले प्रस्ट्याइन् ।

पहिरोको डरले एम्बुलेन्स र निजी सवारी आउन नमान्ने हुँदा हतारका बिरामीलाई बचाउन हम्मे पर्ने गरेको लिस्तिकोटका कलबहादुर तामाङको अनुभव छ । ‘यस्तै रै’छ क्यार हाम्रो भाग्य पनि, वर्षायाम लागेपछि उपचारकै पिरलो हुन्छ,’ उनले भने । सडक र स्वास्थ्यचौकीमा अनिवार्य हुनुपर्ने ५३ प्रकारका औषधि गराइए मात्रै पनि यस्तो समस्या नहुने उनको कथन छ ।

‘पहिरो रोकथाम गरेर सवारीसाधन चल्ने सडक बनाइए यस्तो समस्या व्यापक हुने थिएन,’ उनले भने । पहिरो रोकथाम गरी मुख्य सडकको समस्यालाई समाधान गरिए सवारीसाधन आएर बिरामीलाई सजिलो हुने उनले जनाए ।

बर्खाको कारण जताततै पहिरो जाँदा सवारी अवरुद्ध हुँदा बिरामी मारमा परेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेल सुनाउँछन् । ‘यही कुरालाई ध्यानमा राखेर नयाँ नीति तथा कार्ययोजना बनाएका छौँ, अब चाँडै यस्ता समस्यालाई समाधान गर्नेछौँ,’ पौडेलले भने । उनका अनुसार गाउँपालिकास्तरबाट सम्पूर्ण स्वास्थ्यचौकीका कर्मचारीलाई तयारी रहन र तत्कालै चाहिने औषधि पूर्ति गरिएको छ । ‘मुख्य समस्या बाढीपहिरोले बनाएको छ,’ उनले भने ।

जिल्लाभरको ७५ स्वास्थ्यचौकीमा दुर्गम भेगका १० वटा अझै बन्न नसकेपछि बिरामी झन् समस्यामा परेको जनस्वास्थ्य अधिकृत (सातौँ) रविकान्त मिश्र बताउँछन् । भूकम्प गएको ३४ महिनापछि पनि जिल्लाभरका स्वास्थ्यचौकी पुनर्निर्माण पूरा हुन सकेको छैन । ‘अधिकांश बनिसकेको भए तापनि १० वटा स्वास्थ्यचौकी निर्माणको चरणमै देखिन्छन्,’ उनले भने ।