भारतका लोकप्रिय नेता एम. करुणानिधिको निधन

भारतका लोकप्रिय नेता एम. करुणानिधिको निधन


भारतका एक ख्यातिप्राप्त एवम् लोकप्रिय नेता एम. करुणानिधिको निधन भएको छ । द्रविड मुनेत्र कषगम (द्रमुक) पार्टीका सुप्रिमो एवम् तमिलनाडुका पूर्व मूख्यमन्त्री करुणानिधिको मंगलबार साँझ कावेरी अस्पतालमा निधन भएको हो । सक्रिय राजनीतिमै रहेका उनी ९४ वर्षका थिए । केही दिनदेखि अस्वस्थ रहँदै आएका उनलाई स्वास्थ्यस्थिति थप गम्भीर भएपछि गत जुलाई २८ का दिन अस्पताल भर्ना गरिएको थियो ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् भने पार्टी कार्यकर्ता एवम् आमनागरिकमा दुःखको लहर फैलिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अभिनेता हुँदै पछि नेतामा रुपान्तरण भएका करुणानिधि फिल्ममा जति लोकप्रिय थिए राजनीतिमा झन् बढि चम्किएका व्यक्तित्व हुन् । ६ दशकको आफ्नो राजनीतिक करिअरमा सधैँजसो उनी सत्तामै रहन सफल भए भने यति लामो राजनीतिक जीवनमा उनले एक पटक पनि चुनावी हारको सामना गर्नुपरेन । दक्षिण भारतीय राजनीतिमा उनी भीष्मपितामहका रुपमा चिनिन्थे ।

बहुमुखी प्रतिभाका धनी उनी उपन्यास, नाटकका साथै फिल्मका लागि सम्वाद पनि लेख्दथे । उनलाई तमिलनाडुका जनता प्रेमले ‘कलाइनार’ अर्थात कलाका विद्वान भनी पुकार्दथे । जयललितालाई राजनीतिमा ल्याउन पनि करुणानिधिकै भूमिका रहेको थियो ।

पछिल्लो समय उनी युरिनरी ट्र्याक इन्फेक्सनलगायतका बिमारीबाट पीडित थिए ।