अमेरिकी प्रतिबन्ध कसिएपछि डाएमलरद्वारा इरानमा काम नगर्ने घोषणा

अमेरिकी प्रतिबन्ध कसिएपछि डाएमलरद्वारा इरानमा काम नगर्ने घोषणा


अमेरिकाले इरानमाथि प्रतिबन्ध कस्दै गएपछि त्यसको असर विभिन्न क्षेत्रमा देखापर्न थालेको छ । यसैको प्रतिफस्वरुप जर्मन कार कम्पनी डाएमलरले अमेरिकाले तेहरानविरुद्ध पुनः लगाएको प्रतिबन्धपछि इरानमा आफ्ना व्यवसायिक गतिविधिहरू रोक्ने जनाएको छ ।

इरानमा सीमित रूपमा सञ्चालन गर्दै आएका सबै व्यवसायिक गतिविधिलाई रोकिएको सो कम्पनीका प्रवक्ताले मंगलबार बताएका एएफपीले जनाएको छ । कम्पनीले अमेरिकाद्वारा इरानविरुद्ध लगाएको नाकाबन्दीपछि विश्व समुदायले यसलाई कसरी हेर्दैछ भन्ने सवालमा आगामी राजनीतिक विकासक्रमलाई नजीकबाट हेरिरहेको ती प्रवक्ताले जनाएका छन् ।

संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरपछि उक्त कम्पनीको निर्णय आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि अमेरिकाद्वारा कठोर दण्ड सहितका प्रतिबन्धहरु लगाउने जनाएको हो ।

दुई चरणमा लगाइने अमेरिकी प्रतिबन्धहरुमध्ये पहिलोमा अमेरिकी बैंक नोटहरु तथा कार र गलैंचा समेतका प्रमुख उद्योगहरुको पहुँचसम्बन्धी रहेका छन् ।

इरानीहरुले प्रतिबन्धका प्रभावहरु यसअघि नै अनुभव गरिसकेका छन् । सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेलगत्तै इरानको मुद्रा रियालको मूल्यमा आधा गिरावट आइसकेको छ ।

यसैबीच रूसले अमेरिकाद्वारा इरानविरुद्ध एकतर्फी रूपमा पुनः प्रतिबन्धहरू लगाउने कुराले अत्यन्त दुखी बनाएको जनाएको छ । इरानविरुद्ध पुनः प्रतिबन्ध लगाउने अमेरिकी कदमबाट रुस अत्यन्तै दुखी भएको रूसी विदेशमन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘रूस सन् २०१५ मा रूस,अमेरिकालगायतका विश्व शक्तिराष्ट्रहरूले इरानसँग गरेको आणविक सम्झौतालाई रक्षा गर्न र इरानको आर्थिक चासोको विषयलाई रक्षा गर्न आफ्नो हिस्साअनुसार आवस्यक सबै कुरा गर्न तयार रहने छ ।’