अष्ट्रेलियाको तीजमा गौरी र सुनिता

अष्ट्रेलियाको तीजमा गौरी र सुनिता


राजन घिमिरे

बहुचर्चित नेपाली चलचित्र कन्यादानमा तीजसम्बन्धी एउटा गीत छ ‘तीजको रहर आयो बरि लै…’ । तीजको सन्दर्भमा सबैभन्दा बढी गुन्जिएको, चर्चा पाएको र सबैको मन जित्न सफल सम्भवत यो नै पहिलो नम्बरमा पर्ने गीत हो । यूवापुस्ताको माझ पनि यो गीत धेरैपटक रीमिक्स भैसकेको छ ।

चलचित्र कन्यादानको पर्दामा उक्त गीतमा नृत्यसहितको अभिनय गरेर सबैलाई आकर्षित गर्ने अभिनेत्री गौरी मल्ल अब पहिलोपटक प्रत्यक्ष रूपमा अष्टेलियामा रहेका नेपालीमाझ प्रस्तुत हुने भएकी छिन् । गौरीसँगै युवापुस्ता माझ विशेष छाप छोड्न सफल गायिका सुनिता दुलाल पनि गुन्जिने भएकी छिन् ।

गौरी मल्ल र सुनिता दुलाललाई एउटै स्टेजमा ऊतार्ने काम भने नेप्मार्टकी न्यान्सी पुन मगरले गरेकी हुन् । ‘यी दुई चर्चित सर्जकलाई एउटै स्टेजमा उतार्न पाउनुलाई हामीले अवसरको रूपमा लिएका छौँ,’ न्यान्सीले भनिन् ।

तीज सेलिब्रेसन नाम दिइएको यो कार्यक्रम अगष्ट २५ का दिन सिड्नीको मराना अडोटिरिएममा हुने छ भने कार्यक्रममा अन्य मनोरन्जनात्मक प्रस्तुतिहरू पनि समेटिने बताइएको छ । यी दुई चर्चित सेलिब्रिटीलाई अष्ट्रेलियाको कार्यक्रममा भिसा पार्टनरको रूपमा भ्रमण गराउने चाँजोपाँजो भने एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईले मिलाएका हुन् । मनोरन्जनात्मक कार्यक्रमहरूमा भिसा पार्टनरको रूपमा भट्टराईले लामो समयदेखि सफलता हात पार्दै आएका छन् ।