विद्यार्थीको विश्वास जित्दै अष्ट्रेलियाको सिड्नी सिटी कलेज

विद्यार्थीको विश्वास जित्दै अष्ट्रेलियाको सिड्नी सिटी कलेज


राजन घिमिरे

केही समययता आएर अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्रमा पनि प्रवासमा रहेका नेपालीहरूले लगानी गर्ने क्रमले बढावा पाउन थालेको छ । यसअनुसार अष्ट्रेलियामा पनि पछिल्लो समय नेपालीहरूको लगानीमा कलेज खुल्ने क्रम बढेको छ ।

यस क्रममा एक वर्षअघि सञ्चालनमा आएको सिड्नी सिटी कलेज अफ मेनेजमेन्टले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको छ । सिड्नीको पारामाटामा रहेको यो कलेजले गत शनिबार एक विशेष कार्यक्रमको आयोजना गरेर आफ्नो स्थापना वर्ष मनायो ।

रन्जु वाग्ले थापा र नरेश थापाले सञ्चालन गरेको सो कलेजले शनिबार आफ्ना मिहेनती र जेहेन्दार कर्मचारीहरू सागर लोहनी, क्लाउडीया भियरा, अर्जिना जोशी र कुलदीप प्रधानलाई सम्मान गर्यो । यसैगरी सिड्नी सिटी कलेज अफ मेनेजमेन्टले कार्यक्रममा अन्तरर्राष्ट्रिय गोल्ड मेडलिष्ट खेलाडी अशोक खड्कालाई सम्मान गर्नुका साथै उनको ऐकेडेमीलाई सहयोग स्वरूप ५०० अष्ट्रेलियन डलर सहयोग गर्यो ।

एक वर्षको अन्तरालमा आफ्नो कलेज विद्यार्थीहरूको मन र विश्वास जित्न सफल भएको कुरा कलेजकी सीईओ रन्जु वाग्ले थापाले बताइन् । तीन सय विद्यार्थीबाट शुरू भएको सो कलेजको क्षमता अहिले ५०० पुगिसकेको छ भने स्किल र स्तरीय शिक्षा आफ्नो प्रतिबद्धता रहेको कलेजका प्रिन्सिपल नरेश थापाले सुनाए । ‘ब्यवहारिक र रोजगारीमूलक शिक्षालाई हामीले प्रमुख रूपमा अगाडि बढाइरहेका छौँ । दक्ष विद्यार्थी उत्पादन गर्नु हाम्रो उद्देश्य हो’– कलेजकी सिईओ रन्जुले बताइन् ।

यतिबेला कलेजमा आइटी, एकाउन्टिङ, बिजनेश, लिडरशिप मेनेजमेन्ट र ह्यूमन रिसोर्स विषयमा अध्यापन गराइन्छ । कलेजमा नेपाली, बंगाली, चाइनिज, पाकिस्तानी, भारतीय, कोरिएन र भियतनामी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।