सिन्धुपाल्चोक चिनाउँदै गीति चलचित्र

सिन्धुपाल्चोक चिनाउँदै गीति चलचित्र


किशोर बुढाथोकी, सिन्धुपाल्चोक

‘सामान्य परिवारको एउटा युवा, जो कलाकारिताको क्षेत्रबाटै आफ्नो जन्मभूमि सिन्धुपाल्चोकलाई विश्वमै चिनाउने एउटा अभियान लिएर हिँडेको छ । आफ्नो परिवार, साथीसङ्गी मात्रै नभई प्रेमिकाले पनि उसलाई अभियानमा साथ दिँदैनन् । र, पनि ऊ सङ्घर्ष गरिरहन्छ कतै विचलित नभई । सिन्धुपाल्चोकको विभिन्न पर्यटकीय गाउँहरूको बखान गर्दै, गीत गाउँदै ऊ जिल्लामा पर्यटकीय सम्भावना खोतल्छ । अनि गीत गाउँछ सिन्धुपाल्चोक घुम्ने आग्रह गर्दै । अनेकौँ समस्या र चुनौती एकदिन उसले पार गर्छ । अनि उ सबैको प्रिय बन्छ ।’

यो सारांश कथा हो, हालै पूर्वसूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले विमोचन गरेको गीति चलचित्र मेरो प्यारो सिन्धुपाल्चोकको । अहिले चर्चामा रहेको गायक अमृत भारतीको यो गीति चलचित्रमा नयाँ प्रयोग गरिएकाले पनि दर्शकहरूको मन छोएको छ । गीति चलचित्रले समाज विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेकै कारण सबैको मन जित्न सफल भएको हो । जुन कथाले लक्ष्य प्राप्तिका लागि आइपर्ने समस्यासँग सिंगौरी खेलेरै विचलित नभए आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

गायक भारतीले गीत रेकर्डिङ गरेको महिना दिनपछि यसको भिडियो बनाएका हुन् । गीतको भिडियोले मात्रै समाजमा सन्देश पूर्ण रूपमा दिन नसक्ने भएकाले आफूले गीति चलचित्र निर्माण गरेको उनी बताउँछन् । ‘कामप्रतिको लगाव, इमानदारिताले मान्छेलाई सफल बनाउँछ भन्ने सन्देश प्रवाह गर्न खोजेको छु,’ भारतीले भने, ‘विचलित नभई आफ्नो लक्ष्यप्राप्तिमा पुग्न सकिन्छ भन्ने देखाइएको छ ।’

गीतमा सिन्धुपाल्चोकका पर्यटकीय क्षेत्रहरूको वर्णन गरिएको छ । ‘जुगल हिमाल शीर.. किन मान्छौ पीर, जान्छौ भने घुम्न लान्छु सिन्धुपाल्चोक तिर’जस्ता शब्द कुँद्दै भारतीले सिन्धुपाल्चोकका विभिन्न पर्यटकीय गाउँ घुम्न गीतमार्फत आग्रहसमेत गरेका छन् । भारती आफैँको शब्द रहेको गीति चलचित्रमा समावेश गीतमा जिल्लाका प्रमुख पर्यटकीय गाउँ हेलम्बु, आमा याङ्ग्री, ओखरेनी, पाँचपोखरी, भैरवकुण्ड, दुगुनागढी, तातोपानी, बाह्रबिसे, मेलम्ची, भोटेचौरको सौन्दर्यको समेत बयान गरिएको छ ।
भारती र राजकुमार नेपालीले सङ्गीत भरेको गीतमा लय तथा शब्द भने गायक भारतीकै छ । गीति चलचित्रको छायाङ्कन भने सिन्धुपाल्चोक र काठमाडौंको विभिन्न स्थानमा गरिएको छ । लिगेश भट्टराईको निर्देशनमा बनेको गीतमा प्रज्ज्वल गिरी, सोनिया गिरी, सरिता राजोपाध्याय, रिना थापामगर, अर्जुन थापा, सुरज पराजुली, विमल काफ्ले र सञ्जीव ठकुरीको अभिनय रहेको छ ।