काङ्ग्रेसले नेतृत्व र नीति बदल्नैपर्छ : डा. नारायण खड्का

काङ्ग्रेसले नेतृत्व र नीति बदल्नैपर्छ : डा. नारायण खड्का


नेपाली काङ्ग्रेसका विवादरहित, शालीन, स्पष्टवक्ता नेताको छवि बनाउनुभएका डा. नारायण खड्का एक अर्थविज्ञ, परराष्ट्र मामलामा जानकारका रूपमा पनि परिचित हुनुहुन्छ । पार्टीभित्र गुटगत चरित्र मौलाइरहेको परिवेशमा पनि कुनै समूहविशेषको सहारा नलिई पार्टी एकढिक्का भएर अघि बढे गुमेको साख फिर्ता हुन्छ भन्ने मान्यतामा अडिग देखिनुहुन्छ डा. खड्का । उहाँसँग काङ्ग्रेसको वर्तमान अवस्था र समसामयिक राजनीतिमाथि गरिएको कुराकानी :


० नेपाली काङ्ग्रेस आत्मा नभएको शरीर मात्र भएको पार्टीका रूपमा रूपान्तरित भइसकेको भनिन्छ, तपाईंलाई त्यस्तो लाग्छ कि लाग्दैन ?
– शास्त्रीय ढङ्गबाट हेर्दा पार्टीहरू जीवन्त हुन्छन्, जीवन्त नभए त त्यो पार्टी अङ्ग–प्रत्यङ्गविहीन भई समाप्त नै हुन्छ । कुनै पनि पार्टीको जीवनमा आरोह–अवरोह त आइहाल्छ । जस्तो कि छिमेकी भारतको कङ्ग्रेस पार्टीलाई नै लिऊँ । भारतमा त्यत्रो वर्ष शासन गरेको त्यो पार्टी आज कुन परिस्थितिबाट गुज्रिरहेको छ । युरोपका कतिपय समाजवादी पार्टीहरू त्यस्तै अवस्थामा छन् । निर्वाचनका बेला एमाले र माओवादीका नेताले सुनियोजित तवरमा राष्ट्रवादको कुरा गर्दा त्यसलाई काउन्टर गरेर, छिचोलेर अझ बढी प्रभावकारी रूपमा हाम्रो आफ्नो कुरा अघि सार्न सक्ने नेतृत्व हामीसँग भएन । त्यो राष्ट्रवादको हौवा र दुईवटा ठूला कम्युनिस्ट दलहरू मिल्दै छन्, अब केही हुन्छ भन्ने सर्वसाधारणमा पैदा भएको लहरले काङ्ग्रेसलाई पाखा लगाएजस्तो भयो । यसको मतलब आत्मा नै मरिसकेको, सबै कुरा समाप्त भएको भनी बुझ्नुहुँदैन ।

० राष्ट्रियतको कुरा काङ्ग्रेसले चाहिँ उठाउनै नहुने थियो कि, किन होला ?
– कहाँ त्यस्तो हुन्छ ? वास्तवमा नेपाली काङ्ग्रेस त राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कुरा आफ्नो स्थापनादेखि नै लगातार उठाउँदै आएको दल हो । राष्ट्रियता त काङ्ग्रेसको एउटा मूल नारा नै हो ।

० त्यो त पुरानो कुरा हो, बीपीले उठाउनुभएको थियो यो, तर बीपीलाई नै छोडिसकेको होइन र काङ्ग्रेसले ?
– त्यस्तो होइन । एउटा सन्तुलित राष्ट्रवादको कुरा बीपीले उठाउनुभएको थियो, त्यसमा काङ्ग्रेस आज पनि प्रतिबद्ध छ । राष्ट्रवादको नाममा उन्मादपूर्ण कुरा गर्ने, एउटा खास अवस्थामा आफ्नो आक्रोश पोखेर मुलुकमा उन्माद मच्चाउने राष्ट्रवाद केपी ओलीजस्ता नेताले बोकेका कुरा हुन् । तर, भौगोलिक अवस्थितिका आधारमा हेर्दा दुईवटा नितान्त भिन्न प्रकारका राजनीतिक व्यवस्था अँगालेका ठूला देशहरूको बीचमा रहेको देश नेपाल हुनाले सन्तुलित व्यवहार अवलम्बन गर्नुपर्छ, एक देशविरुद्ध अर्कोलाई शिरमा बोक्ने र एउटालाई टोक्ने नीति काङ्ग्रेसले सोच्न पनि सक्दैन । बीपीको धारणा पनि यही थियो ।

० प्रधानमन्त्री भइसकेपछि त केपी ओलीले कुनै राष्ट्रका विरुद्ध उग्रता दर्शाएजस्तो देखिँदैन नि, होइन र ?
– हो ! त्यस्तो खालको उग्र राष्ट्रवादी कुरा टिक्नुपऱ्यो नि त ! जस्तो कि भारतले नाकाबन्दी लगायो भन्दै केपी ओलीले चुनावअघि आफ्नो एउटा खास ‘पोस्चर’ निर्माण गरे । राष्ट्रवादी देखिने सो पोस्चर देखाएरै केपी ओलीले चुनावसमेत जित्ने हतियार बनाए । तर, चुनाव जितेर प्रधानमन्त्री भएपछि नाकाबन्दीको सवालमा उनको रवैया अर्कै देखियो । नेपाली काङ्ग्रेसले भने यस्ता मुद्दालाई क्याच गर्नै जानेन । यहीँनेर म प्रस्ट्याउन चाहन्छु कि काङ्ग्रेसले चाहिँ जनताले भोगेको त्यो नाकाबन्दीको पीडालाई इस्यु बनाउन सकेन । कुनैबेला मैले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भनेको पनि थिएँ कि न तपाईंहरूसँगै मिलेर जान सक्नुभयो न कुनै चुनावी माहोल पैदा गर्न सक्नुभयो ।

० काङ्ग्रेस र कम्युनिस्टको बीचमा पहिले जुन खालको अन्तर देखिन्थ्यो वैचारिक, दार्शनिक, अनि जब संविधान बन्यो त्यो साझा दस्तावेजको रूपमा आयो । सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशितालगायतका कुराहरूमा समान दृष्टिकोण बन्यो काङ्ग्रेस र कम्युनिस्टको । यसरी कम्युनिस्टका एजेण्डामा पूरै सहमति जनाएपछि काङ्ग्रेस अब कम्युनिस्टतिरै ढल्कियो भन्न मिल्दैन ?
– त्यतिबेलाको ‘कम्प्रोमाइजिङ डकुमेन्ट’हरूमा हामी धेरै पछि परेको र पर्दै गएको पक्कै हो । माओवादीले जातीय कुरा बोकायो, त्यो अहिलेसम्म पनि बोकेकोबोक्यै छौँ हामी । छलफल नै नगरीकन धर्मनिरपेक्षताको विषयमा प्रवेश मात्र नगरी संविधानमै लागू गरियो । यस्तो मुद्दामा गिरिजाप्रसाद कोइरालाजस्ता हाम्रो पार्टीका तत्कालीन शीर्ष नेता नै प्रस्तावक बनेर अघिसरेका थिए । आज यो मुद्दाले निकास नपाएर हाम्रैमाझ रुमल्लिइरहेको छ । यस्तो मुद्दा कुनै पनि बेला फेरि बेस्सरी चर्किएर उठान हुन सक्छ ।

० हावामै रहिरहेको यस्ता मुद्दाप्रति गम्भीर हुँदै नेपाली काङ्ग्रेसले पुनः अपनत्व प्रदान गर्ने तथा आफू सच्चिएर अघि बढ्ने प्रयास गर्ने सम्भावना कति देख्नुहुन्छ तपाईं ?
– यस्ता विषयलाई ‘च्याप्टर क्लोज’ नै गरिनुपर्छ भन्ने धारणाको विरुद्ध छु म । नागरिकको ठूलो हिस्साले अपनत्व प्रदान गरिरहेका ज्वलन्त मुद्दालाई जे भयो यत्तिकै सकियो भनेर यत्तिकै पन्छाउन सकिँदैन । संविधानमा जनताको भावनाको प्रतिनिधित्व नभएका मुद्दाहरू कुनै न कुनै कोणबाट पार्टीभित्रै या पार्टीकै साथीहरूबाट उठाइन सकिन्छ, जसरी हिजो खुमबहादुर खड्काले उठाउँदै आउनुभएको थियो । जहाँसम्म पार्टीले महसुस गरेर अपनत्व प्रदान गर्ने सवाल छ, जनता र कार्यकर्ताको दबाब बढ्यो भने पार्टीले यसबारे सोच्नैपर्ने हुन्छ ।

० तपाईं आफैँले उठाउने सम्भावनाचाहिँ कति छ नि यस्ता मुद्दा ?
– छलफलको विषय बन्न सक्छ भनी मैले भनिरहेको छु, प्रकारान्तरले यो पनि ती मुद्दाको सम्बोधन गर्नुपर्छ भन्ने अर्थ नै हो । तर, यत्ति नै बेला वर्तमान संविधानलाई अनादर गरी कुल्चिएर हिँडेको अर्थ लाग्ने गरी मैले बोल्नु पनि मनासिव हुँदैन । त्यतिबेलाचाहिँ केही बोल्न नसक्ने अहिले आएर यसरी मुद्दा उठाउने भन्ने प्रश्न पनि उठ्न सक्ने हुनाले नैतिक बन्धनमा परेको छु म ।

० यतिबेला काङ्ग्रेस र कम्युनिस्टबीचको भिन्नता नाम र नेताबाहेक अरू के–के कुरामा छ त ?
– भिन्नताभन्दा पनि समानता पो ज्यादा देखिन्छ त । नयाँ संविधानमा जुन सङ्घीयता, धर्मनिरपेक्षता, समावेशितालगायतका एजेण्डालाई साझा एजेण्डाको रूपमा स्वीकार गरी लेख्ने काम गरियो । काङ्ग्रेसको आफ्नो मौलिकता भन्ने कुरा रहेन । पार्टीगत भिन्नता देखाउने अर्को अवसर भनेको निर्वाचन हो । तर, काङ्ग्रेसले चुनावको बेला पनि त्यो भिन्नता प्रदर्शन गर्न सकेन । सर्सर्ती हेर्दा यस्तै महसुस हुन्छ । सूक्ष्म रूपले नियाल्दाचाहिँ काङ्ग्रेस र कम्युनिस्ट पार्टीबीच भिन्नता छ । जस्तो कि समाजवादकै कुरा गरौँ । नेकपाको यो वर्तमान सरकारर चिनियाँ मोडेलको समाजवादको कुरा गर्छ । चिनियाँ विशेषताको समाजवाद भनेको राज्यका हरकुरामा सरकारको स्वामित्व या नियन्त्रण हुनुपर्छ भन्ने छ । वर्तमान सरकार यही बाटो अपनाउन चाहिरहेको देखिँदै छ । हामीचाहिँ सोसल डेमोक्रेसीको पक्षधर हौँ । यसमा निजी क्षेत्रको सहभागिताका साथ आर्थिक समानताका मुद्दाहरूलाई सरकारले अघि बढाउने भन्ने नीति रहन्छ । कम्युनिस्टले भन्ने समाजवाद र काङ्ग्रेसले अङ्गीकार गर्न चाहेको समाजवादमा ठूलो भिन्नता छ । त्यस्तै लोकतन्त्रको सवालमा पनि नेकपाले जनताको बुहदलीय जनवादको कुरा गरेको छ । यसलाई उनीहरू मदन भण्डारीको महान् विचार भनेर भनिरहेका छन्, तर त्यो कस्तो खालको लोकतान्त्रिक चरित्र भन्नेचाहिँ बुझ्न सकिएको छैन । हाम्रो पार्टीचाहिँ एउटा मध्यमवर्गीय चरित्र बोकेको पार्टी हो । पार्टी सञ्चालनको प्रक्रियामा पनि उनीहरूको ‘लेनिनिस्ट प्रिन्सिपल’प्रति ढल्केको देखिन्छ । जनवादी केन्द्रीयताको कुरा गर्छन् उनीहरू र एलिट वर्गबाट नियन्त्रण हुनुपर्ने सोच देखिन्छ । तर, हामीचाहिँ मासमा जानुपर्छ भन्छौँ । सन्तुलित छिमेकनीतिमा हामी विश्वास गर्छौं, तर वर्तमान नेकपाचाहिँ चीनमुखी अवधारणाबाट ग्रस्त देखिन्छ ।

० कम्युनिस्टहरू अहिले जुन चरित्र देखाइरहेका छन्, जसरी अघि बढ्न खोजिरहेका छन्, तपाईंहरूले कहिल्यै अनुमान गर्नुभएको थियो कि उनीहरू यस अवस्थामा आइपुग्छन् भनेर ?
– हामीले यस्तो ठानेका थिएनौँ । उनीहरू बिस्तारै लोकतान्त्रिक शक्तिका रूपमा आफूलाई रूपान्तरण गर्दै छन् भन्ने मोटामोटी बुझाइ रहँदै आएको हो । तर, आफूलाई बौद्धिक शक्ति ठान्ने पूर्वएमाले र भौतिक शक्ति ठान्ने पूर्वमाओवादीको जुन मिलन गत चुनावदेखि भएर आयो, यसपछि ओलीजीले आफूलाई ठूलै ‘पावर’को रूपमा लिन थाल्नुभएको छ । मेरो व्यक्तिगत धारणा त के छ भने ओलीजीको ठाउँमा दाहालजी भएका भए अहिले मुलुकमा जुन खालको माहोल देखिँदै छ, यस्तो हुने थिएन कि ! प्रधानमन्त्रीको जिम्मेवारीमा यदि ओली नभएर दाहालजी भएका भए अलिक सतर्क भएर हिँड्थे होलान्, अलिक लचकदार व्यवहार प्रस्तुत गर्थे होलान् भन्ने मलाई कता–कता लाग्छ । तर, काङ्ग्रेसमा यस्ता कुरामा कुनै छलफल भएर एउटा अवधारणा बनेर भनेकाचाहिँ होइन मैले ।

० काङ्ग्रेसमा त पार्टीगत नीति निर्माणका लागि छलफलसम्म पनि हुँदैन होइन त ?
– खुलस्त भन्नुपर्दा यो अवस्थालाई ढाकछोप गरेर पनि फाइदा छैन । काङ्ग्रेसमा विभिन्न गुटको जुन चर्चा चल्ने गर्छ, त्यो पनि केही होइन । त्यहाँ सैद्धान्तिक, वैचारिक भिन्नता पैदा भएर अनि भिन्न समूह देखापर्नुपरेको भन्ने होइन ।

० हालकै नेतृत्वलाई बोकेर अब काङ्ग्रेसलाई माथि उठाउन सकिन्छ भन्ने लाग्छ तपाईंलाई ?
– नेतृत्व पनि परिवर्तन त गर्नुपर्ला, तर अहिले बीचैमा झ्याम्म देउवाजीलाई फाल्नेबित्तिकै सबै कुरा समाधान हुन्छ भन्ने मलाई लाग्दैन । आन्तरिक शक्ति–सन्तुलनको सवालमा काङ्ग्रेस पार्टीको आफ्नै विशेषता छ, आफ्नै मौलिक चरित्रको शक्ति–संरचना छ काङ्ग्रेसभित्र । तत्काल नेतृत्व फेर्दैमा सबै कुरा नयाँ भइहाल्छ भन्ने अवस्था छैन । तथापि, नेतृत्व र नीति परिवर्तन नगरी नहुने अवस्था पनि छ । पार्टीलाई विधिविधानका साथ महाधिवेशनसम्म लगेपछि नै पार्टी हाँक्न सक्ने सशक्त नेतृत्व आउँछ र आउनुपर्छ भन्ने मान्यता मेरो छ ।

० महाधिवेशनसम्मचाहिँ काङ्ग्रेसलाई यही रूपमा जोगाउन सकिएला ?
– गुट–गुटका बैठक मात्रै बसेर, एक–अर्कालाई गाली मात्रै गरेर त पार्टीको साख जोगिन सक्दैन । राजनीतिक दलको गतिशीलता त ज्वलन्त मुद्दाहरूलाई लिएर त्यसको उचित निकासका लागि प्रयत्नशील रहेको अवस्थामा मात्रै प्रस्टिन्छ । काङ्ग्रेसले पनि वर्तमान महँगी, सरकारी धरपकड, अधिनायकीपन प्रदर्शनजस्ता विभिन्न मुद्दाको उठान गरेर एकताबद्ध भई अघि बढ्नु आवश्यक छ । नेपाली समाजको एउटा विशिष्टता के छ भने नेताले एक वर्ष–६ महिनाअगाडि मात्रै ठुल्ठूलो गल्ती गरेको भए पनि पछि एउटा गतिलो मुद्दा समातेर राम्रो पर्फर्मेन्स प्रस्तुत गरेर हिँड्न सक्यो भने विगतका कमी–कमजोरी सबै बिर्सन्छन् नेपाली जनता । हिजो ढुङ्गा हानिएका नेता पनि कालान्तरमा महान् बन्न पुग्छन् नेपाली जनताको नजरमा । यस नेपाली विशेषताको लाभ उठाउन सक्छन् नेताहरूले । त्यसका लागि जनताको पक्षमा कुनै मुद्दा समातेर काम गर्नचाहिँ सक्नुपऱ्यो । सुतेर बस्ने अनि भाग्यकै भर पर्ने गरेरचाहिँ हुँदैन ।

० वर्तमान परिवेशमा तपाईंले काङ्ग्रेसका कार्यकर्तालाई र नेपाली जनतालाई नभनी नहुने कुराचाहिँ के छ ?
– यतिबेला लोकतान्त्रिक अधिकार या मर्ममाथि कहीँ–कतै प्रहार भइहाल्छ कि भन्ने कुरामा तमाम नेपाली जनता सचेत रहनु आवश्यक छ । यसको खबरदारी अहिले नै गरिनुपर्छ । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर ‘महाकम्युनिष्ट रूप’ धारण गरेपछि लोकतन्त्रको सवालमा त्यसबाट आउन सक्ने विकारहरूको सामना गर्न सबै प्रजातान्त्रिक कार्यकर्ता एवम् लोकतन्त्र पक्षधर नागरिक तत्पर हुनुपर्ने परिस्थिति निर्माण भइसकेको पाउँछु म । आमनेपालीको मनबाट नेपाली काङ्ग्रेसप्रतिको आस्था मरिसकेको छैन भन्ने हिजोको निर्वाचनमा यसले प्राप्त गरेको समानुपातिक मतले पनि पुष्टि गरेको छ । जनताको यो विश्वासलाई अझ उचो तुल्याउन जनजीविकासम्बन्धी मुद्दाहरूलाई शिष्ट या सभ्य तवरले उठान गर्दै काङ्ग्रेस कार्यकर्ता र मूलतः नेतृत्वले ठूलो मिहिनेत गर्नु आवश्यक छ ।

हेर्नुहोस् कुराकानीको भिडियो-