बीपीको वृत्तचित्र जापानमा

बीपीको वृत्तचित्र जापानमा


नेपाली कांग्रेसका संस्थापक नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ ।

बीपीको ३७औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बीपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बीपी संग्रहालय समिति काठमाडौंको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा कोइरालाको राजनीतिक इतिहास र जेल जीवनका बारेमा जानकारी समेत गराइयो । वृत्तचित्रमा बीपी, सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेल जीवनको अवस्थाबारे चित्रण गरिएको छ ।

कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दी गृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण गराए भने बिपी चिन्तन तथा गणेशमान फाउण्डेशन जापानका अध्यक्ष डा. बलराम श्रेष्ठले प्रजातान्त्रिक समाजवादी दर्शन र चिन्तन विश्वमा प्रचारप्रसार गर्न आवश्यक रहेको उल्लेख गरे ।

सो अवसरमा बीपी चिन्तन तथा गणेशमान फाउण्डेसन जापानकी सचिव जापानी नागरिक इमुरा हिरोकोले प्रजातान्त्रिक नेता बीपीको जेल जीवनबारे वृत्तचित्र जापानमै हेर्न पाउँदा खुशी लागेको बताए।