चलचित्रप्रेमीलाई प्रवासी नेपालीको उपहार- ‘मिष्टर भर्जिन’

चलचित्रप्रेमीलाई प्रवासी नेपालीको उपहार- ‘मिष्टर भर्जिन’


– राजन घिमिरे

पछिल्लो समय प्रदर्शनको हिसाबले मात्र नभई निर्माणको पक्षबाट पनि प्रवासबाट नेपाली सिनेमामा लगानी भित्रिने क्रम बढ्दो छ । यस मामलामा अष्ट्रेलियामा रहेका नेपालीहरू अगाडि देखिएका छन् । नेपाली सिनेमाको राम्रो बजार मानिएको अष्ट्रेलियाबाट नेपाली चलचित्रमा लगानी गर्ने क्रम बढ्ने र चलचित्रहरुको छायांकन पनि अष्ट्रेलियामा हुने गरेका कारण पनि नेपाली सिनेमाप्रति अष्ट्रेलियामा रहेका नेपालीहरूको मोह ज्यादा नै देखिन्छ ।

यसै क्रममा हालै अष्ट्रेलियाका प्रवासी नेपाली खिलेन्द्रराज तिमल्सिना र प्रजापति शिवाकोटीले लगानी गरेको चलचित्र मिष्टर भर्जिन प्रदर्शनको तयारीमा रहेको छ । आगामी भदौ १ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको आइतबार (१३ साउन) देखि सार्वजनिक भएको ट्रेलरबाट आएको सकारात्मक प्रतिक्रियापश्चात यो चलचित्रको युनिट चलचित्रको सफलताप्रति ढुक्क देखिएको छ ।

चलचित्रका एक निर्माता खिलेन्द्र तिमल्सिना यतिबेला अष्ट्रेलियामा छन् भने अर्का निर्माता प्रजापति शिवाकोटी चलचित्रको प्रचारप्रसारका लागि नेपाल आइपुगेका छन् ।

‘हामी प्रवासमा चलचित्रहरूको प्रदर्शन मात्र नगरेर निर्माणलाई पनि निरन्तरता दिने योजनाका साथ आएका छौँ । मिष्टर भर्जिनपछि हामी अर्को चलचित्र कागज पत्र लिएर आउँदै छौँ’, निर्माता शिवाकोटीले सुनाए ।

विसरात बस्नेतको निर्देशन रहेको चलचित्र मिष्टर भर्जिनको ट्रेलर सार्वजनिक भएपछि यसको प्रशंसा चुलिएको छ । मनोरन्जनको सम्पूर्ण र एकमुष्ट खजानाको रूपमा हेरिएको यो चलचित्रमा अभिनेत्री मरिष्का पोखरेलले गरेको सजिव अभिनयको तारिफ गरिएको छ भने गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, भोला सापकोटा र रविन्द्र झाको उपस्थितिलाई पनि उच्चकोटीको प्रस्तुतिको रूपमा हेरिएको छ ।