बाघचालमा ८ देखि ८४ वर्षका खेलाडी

बाघचालमा ८ देखि ८४ वर्षका खेलाडी


प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको बसुन्धारस्थित चन्द्रबिन्दु स्कूलमा प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न प्रतियोगिताको उद्घाटन वरिष्ठ खेलाडी बैकुण्ठ मानन्धरले गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेपालका मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै मानन्धरले अन्य यस्तै खेलहरुको खोजी गरी मुलधारमा ल्याउनुपर्ने बताए । बाघचालजस्तै अन्य मौलिक खेलहरुलाई प्रवद्र्धन गर्न राज्यले पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले नेपालको सँस्कृतिसँग जोडिएका खेलहरूको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।

फाइनलमा उमेर समूहअन्तर्गत १८ वर्षमुनिका रेहान मिया प्रथम भएका छन् । त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः विवश खकुराल र पासाङ तामाङ विजयी भएका छन् । १८ वर्षमाथि उमेर समूहमा सागर महर्जन प्रथम भएका छन् पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो तेस्रो भएका छन् । बाघचाल प्रतियोगितामा ११४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए । उनले यो कार्यक्रमलाई आगामी वर्षहरुमा अझ भव्यताका साथ अगाडी बढाउने बताएका छन् । विजेतालाई प्रगतिवादी युवा समाजका अध्यक्ष प्रविण बस्नेतले नगद पुरस्कारसहित सम्मानपत्र वितरण गरेका थिए ।

सो अवसरमा १२ जना पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ । जरो किलो महाअभियानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले पूर्व खेलाडीलाई खादा ओडाई सम्मानपत्र प्रदान गरेका छन् । सम्मानित खेलाडीको तर्फबाट पूर्व राष्ट्रिय भलिबल खेलाडी भरत शाहले आफ्नो मन्तव्य राखेका थिए । उनले नेपालका पुराना खेलहरुलाई नेपाली आफैले जगेर्ना गर्नुपर्ने भन्दै खेलको महत्वलाई बुझेर लाग्नुपर्ने बताए ।
सम्मानित हुने अन्य खेलाडीमा विनोद कुमार दास, जीत बहादुर केसी, ममता चौधरी, सारादेवी तामाङ, आङ बाबु लामा लगायत रहेका छन् । सम्मानित हुने खेलाडीमध्ये दिपक महर्जन र दिपक बिष्ट विदेशमा रहेकाले अनुपस्थित भएका थिए ।