न्यायालयलाई मुट्ठीमा राखेर स्वार्थपूर्तिको खेल

न्यायालयलाई मुट्ठीमा राखेर स्वार्थपूर्तिको खेल


– गोपाल पराजुली

पुनहिल हुँदै घोडेपानीको यात्रामा जंगलमा हराउँदा माकुराको जालोले दिएको कष्टलाई यसअघिका दुई श्रृङ्खलामा मैले कान्तिपुर मिडियाको मप्रतिको दुराग्रहसँग जोडेर सम्झेँ । यो श्रृङ्लामा त्यो यात्रा संस्मरणको बिट मार्दैछु ।

हामी कष्टकर जंगल छिचोल्दै घोडेपानी पुग्यौँ । करिव–करिव १२ हजार फिटको उचाईमा अवस्थित हुनुपर्छ त्यो ठाउँ । घोडेपानीको जंगल गुराँसको जंगल पनि हो । निकै घना र सुन्दर जंगल थियो । घोडेपानी हुँदै हामीलाई पर्वतको उल्लेरी भन्ने ठाउँमा पुग्नु थियो । दिउँसोको लगभग २ बजेको समय थियो होला । हामी घोडेपानीमा तातोपानी र केही खानेकुरा खाएर उल्लेरीतर्फ जाँदै थियौँ । पूरै जंगल यति अँध्यारो थियो कि हामीले दिउँसोकै समयमा पनि टर्च बालेर बाटो पहिल्याउनु पर्थ्यो । त्यति घना जंगल कि मैलै तराइको कावासोतीमा देखेको थिएँ कि त्यहीँ देखेँ । पहाडमा त्यति घना जंगल चाहिँ मलाई निकै आश्चर्य लाग्यो ।

जंगलयात्राको थकानले लखतरान भएर बेलुकी करिव ७ बजेतिर हामी उल्लेरीबजार पुग्यौँ । उल्लेरी बजारबाट दक्षिणपूर्व फर्केर हेर्दा माछापुच्छ«े हिमाल प्रष्ट देखिन्थ्यो । टाकुरामा माछाको पुच्छर जस्तो दुई चिरा परेको उज्यालो हिमाल । मैले स्कूलमा पढेको थिएँ नेपालको सिमाना पूर्वमा मेची, पश्चिममा महाकाली, उत्तरमा हिमाल र दक्षिणमा दशगजा । मलाइ के लाग्यो भने हिमालभन्दा पनि माथि पो आयौँ त हामी ! हिमाल त दक्षिणतिर पो देखिन्छ त ! नेपाल त यस्तो पो रहेछ ! अनि मैले पढेको भूगोलभन्दा भिन्न, मैले पढेको कितावमा उल्लेख भए भन्दा अलग धरातलीय स्वरूप मैले त्यहाँ देखेँ ।

सत्यको उत्खननमा निर्मम बन्नुस् तर असत्य र भ्रामक समाचार छापेर कसैको पुस्ता–पुस्तान्तरसम्म असर पुग्ने खालका, सामाजिक प्रतिष्ठालाई होच्याउने खालका, उसलाई बदनाम गर्ने कुराहरूप्रति कृपया सावधान हुनुहोस् ।

मलाई के लाग्छ भने हामीले कुनै काम गर्दा होस् वा व्यवहार गर्दा, त्यहाँ नडुबी त्यसको वास्तविकता बुझ्न सकिँदैन । हामीलाई स्कूलमा नेपालको उत्तरी सिमाना हिमालले छुट्टाएको भनेर पढाइयो । तर, त्यो हिमालको सिमाना कहाँसम्म फैलिएको छ भनेर बुझाइएन । हिमालको तह–तह रहेको र हिमालभन्दा माथितिर पनि देश रहेको भन्ने वास्तविक ज्ञानको कुरा सिकाइएन । उल्लेरीबजार पुगेपछि मात्रै मैले नेपालको वास्तविक भूगोल बुझेँ । सुनेर वा पढेर मात्रै कहिलेकाहीँ हामीले वास्तविकता पहिल्याउन नसक्ने रहेछौँ । यथार्थ नबुझी कुनै पनि विषयप्रति धारणा बनाउँदा सत्य भन्दा टाढा पुगिने रहेछ भन्ने ज्ञान पनि त्यो यात्राबाट मैले प्राप्त गरेँ ।

त्यो रात उल्लेरीमा बास बसेपछि अर्को दिन विहानै ओरालो बाटो हुँदै हामी नयाँ पुलमा आयौँ । नयाँ पुलबाट फेरि माथि उकालो लागेर कास्कीको कृषि अनुसन्धान केन्द्र लुम्लेमा पुग्यौँ । त्यहाँ सुस्ताएर नाउडाँडामा पुग्न लाग्दा डाँडामाथिबाट फेवाताल देखियो । फेवाताल देखेपछि हामी हौसियौँ र बाटो छोडेर फेवाताललाई ताकेर सिधा हिँड्न थाल्यौँ । खेतका आली, कान्लैकान्ला, गोरेटैगोरेटो बेसुरसँग हिँड्न थाल्यौँ । हिँड्दै जाँदा फेवातालको सिरानमा पर्ने चामे भन्ने ठाउँमा पुग्यौँ । चामेबाट पनि फेवाताल त निकै टाढा रहेछ । हामी हिँड्दाहिँड्दै बीचमा कतै भासमा पर्थ्यौँ, कतै दलदलमा फस्थ्यौँ, फेरि निस्कन्थ्यौँ अनि हिँड्थ्यौँ । फेवातालको शीर हुँदै बगेका कहिले पूर्व र कहिले पश्चिमतर्फका खोला तर्दै–तर्दै हिँडिरह्यौँ ।

वास्तवमा हामीले माथि लेकबाट देखेजति नजिक रहेनछ फेवाताल । आँफ्नै आँखाको भर पर्दा पनि दुःख पाइने रहेछ कहिलेकाहीँ । जति नै छिटो हिँडे पनि जति नै दौडिए पनि त्यो दिन हामीले फेवाताल भेट्न सकेनौँ । बीच बाटोमा कतै एउटा थकालीको भट्टी रहेछ । निगालाको मान्द्राले बेरेको भट्टी । त्यहीँ बास बस्यौँ र भोलिपल्ट मात्रै पोखरा पुग्यौँ ।

सुनेर वा पढेर मात्रै कहिलेकाहीँ हामीले वास्तविकता पहिल्याउन नसक्ने रहेछौँ । यथार्थ नबुझी कुनै पनि विषयप्रति धारणा बनाउँदा सत्य भन्दा टाढा पुगिने रहेछ ।

मैले यो यात्राबाट धेरै कुरा सिकेँ । जब आफू कुनै कुरामा डुब्न सकिँदैन, गहिराइमा पुग्न सकिँदैन, जब आफूले त्यो कुरालाई अनुभव गरी त्यहाँ भिज्न सकिँदैन, तबसम्म हामीले बाहिरी सतह मात्रै बुझेका हुने रहेछौँ । मैले यहाँनेर जोड्न चाहेको कुरा के हो भने कान्तिपुर मिडियाले मलाई बुझेको मात्र भए, मेरो समग्र जीवनका उतारचढाव थाहा पाएको भए, मेरो जीवनमा कस्ता–कस्ता यात्राहरू, कस्ता–कस्ता दुःखहरू रहेछन् ती सबैलाई नियालेको भएदेखि मेराविरुद्ध पक्कै त्यसो गर्ने थिएन होला । कान्तिपुरले मेराउपर गरेको खेलबाड, मेरो व्यक्तिगत र सार्वजनिक जीवनमाथि गरेको मजाक र मलाई दिएको दुःख–पीडा साँच्चिकै दर्दनाक छ ।

मैले उहिल्यै कतै न्यूजवीक (News Week) भन्ने एउटा अंग्रेजी पत्रिका पढेको थिएँ । सायद ०३२–०३३ सालतिर । त्यहाँ एउटा न्यूज स्टोरी थियो जसले मलाई साह्रै नै प्रभावित पारेको थियो । फिलिपिन्समा एकजना प्रोफेसरले पोलिटिकल साइन्स पढाउँदाखेरी ‘अमेरिकामा अहिलेभन्दा कमजोर राष्ट्रपति, अहिलेभन्दा स्तरहीन राष्ट्रपति, विदेश नीति नबुझेको राष्ट्रपति सम्भवत अमेरीकी इतिहासमा कहिल्यै थिएनन्’ भनेर पढाएछन् । ती प्रोफेसरले अमेरिकी स्वयमसेवी कार्यक्रम ‘पिसकोर’अन्तर्गत फिलिपिन्समा रहेर पढाउँदै आएका थिए । प्रोफेसरले त्यसरी राष्ट्रपतिको आलोचना गरेको खबर तत्कालिन अमेरीकी राष्ट्रपतिकहाँ पुगेछ ।

उक्त खबरपश्चात अमेरीकी राष्ट्रपतिको कार्यालयबाट ती प्रोफेसरको निवासमा फोन गएछ । उनकी श्रीमतीले फोन उठाइछन् । टेलिफोनमा बोल्ने अमेरिकी राष्ट्रपतिको कार्यालयको कुनै कर्मचारीले भनेछ कि ‘तिम्रा पतिले अमेरिकी सरकारको पिसकोर कार्यक्रमअन्तर्गत रहेर पढाउने र अमेरिकी राष्ट्रपतिकै विरुद्ध जथाभावी बोल्ने गरेका रहेछन् । अब सरकारले तिनको जागिर टुटाइदिन्छ । त्यसकारण तिम्रा पतिलाई सजग हुन भनिदिनु ।’ ती महिलाले आफ्ना पतिलाई सो कुरा वताएपछि ती प्रोफेसरले फेरि ‘यतिसम्म नादान राष्ट्रपति अमेरिकामा कहिल्यै भएनन्, जबकि अमेरिकामा वैयक्तिक स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गरिएको छ । बोल्न पाउने हक छ । तैपनि यस्तो आतङ्कित गरेको छ’ भनेछन् । यसै घटनाका कारण उनकी श्रीमती मानसिक समस्याबाट आक्रान्त भइन् । जचाउँदा कुनै मानसिक कारण रहेको भन्ने थाहा भयो । ती प्रोफेसरले अमेरिकी अदालतमा मुद्दा दिएछन् । राष्ट्रपति कार्यालयबाट आएको फोन र धम्कीले मेरो पत्नीको यो अवस्था भएको हो भन्ने जिकीर उनले गरे । तल्लो तहको कन्ट्री कोर्टले ३ लाख अमेरिकी डलर क्षतिपूर्ति दिलाउने फैसला गर्यो ।

त्यसकारण कसैले कसैका बारेमा बोल्दाखेरिमा, कसैले कसैलाई तथ्यहीन कुराले गाली गर्ने क्रममा प्रष्ट रूपमा क्षतिपूर्ति भराउने र अप्रत्यक्ष रूपमा त्यसरी परेको असरको समेत क्षतिपूर्ति भराउने सभ्य समाजमा गरिएको व्यवस्था छ भने यहाँ त अदालतलाई समेत हाकाहाकी गाली गरिन्छ । अदालतले गर्ने फैसलामा न्याय निरोपणको प्रक्रियामा अवरोध पुर्याउने र आफैँ अखबारका पानाबाटै फैसला गर्ने गरिन्छ । आफैं न्यायाधीश बनिन्छ । आफैं आदेश लेखिन्छ । आफैंले न्यायाधीश परिचालन गरिन्छ । त्यो भन्दा विडम्बना के हुन सक्छ ?

यदि न्याय मर्दैन भने न्यायालयलाई आफ्नो मुट्ठीमा राख्नेहरूको पर्दाफास गर्नैपर्ने हुन्छ । चाहे प्रल्हादको कथा होस् या देवहरूले हारेको कथा । अन्त्यमा सत्यकै जीत हुन्छ, यदि सत्य भन्ने चीज कतै साक्षात हुन्छ भने ।

त्यसकारण म मिडियाका साथीहरूलाई भन्ने गर्छु, ठीक छ– सत्यको उत्खननमा निर्मम बन्नुस् तर असत्य र भ्रामक समाचार छापेर कसैको पुस्ता–पुस्तान्तरसम्म असर पुग्ने खालका, सामाजिक प्रतिष्ठालाई होच्याउने खालका, उसलाई बदनाम गर्ने कुराहरूप्रति कृपया सावधान हुनुहोस् । कान्तिपुरका कैयन कर्तुतलाई केस्रा–केस्रा गरी जो–कोहीले पनि केलाउन सक्छ । कान्तिपुरले आफ्नो पत्रिकालाई एउटा पम्पलेट जस्तो बनायो । मेरो विरुद्धमा एकैदिन एउटै पत्रिकामा ८–९ वटासम्म समाचार लेख्यो । त्यो पनि हुँदैनभएका कुराहरू राखेर । कान्तिपुरले कति पृष्ठ, कति आर्टिकल खर्च गर्यो होला झुठ सम्प्रेषण गर्नकै लागि ?

जैनेन्द्र जीवन र श्याम मैनालीजस्ता व्यक्तिले समेत मेरो यथार्थतालाई नबुझेर आर्टिकल प्रकाशन गर्ने कार्यमा संलग्न हुनुभयो । जो निकै दुःखद कुरा हो । जैनेन्द्र जीवनका बारेमा मैले छुट्टै लेखेको छु । श्याम मैनालीले त मलाई राम्रोसँग चिन्नुभएको थियो । कान्तिपुर जस्तो मिडियाको प्रभावमा पर्नुभयो । मलाई नचिनेको जस्तो गर्नुभयो । यस्ता धेरै पात्रहरू छन् जसलाई कान्तिपुरले प्रभावमा पारेको छ । आफ्नो जालोमा लपेटेको छ । केस्रा केलाउनै बाँकी छ ।

मलाई के लाग्छ भने कसैलाई गरेको घृणाबाट छुटकारा पाउन आफ्नै आत्मालाई सोध्नुपर्छ । मेराप्रति जो–जसको जे–जस्तो घृणा भयो त्यो न्यायालयप्रतिको घृणा हुनसक्छ । न्यायालयलाई कब्जामा राखेर आफ्नो स्वार्थ सिद्ध गर्नेहरूको खेल हुनसक्छ । यदि न्याय मर्दैन भने न्यायालयलाई आफ्नो मुट्ठीमा राख्नेहरूको पर्दाफास गर्नैपर्ने हुन्छ । चाहे प्रल्हादको कथा होस् या देवहरूले हारेको कथा । अन्त्यमा सत्यकै जीत हुन्छ, यदि सत्य भन्ने चीज कतै साक्षात हुन्छ भने । क्षणिक दुःख त मलाई पनि हुन सक्छ । मलाई बदनाम गर्न कान्तिपुरले लगाएको ताकत, उसले गरेको खर्चको हिसाबकिताब थाहा पाउन नडराइकन उसको खाता हेरे हुन्छ । उक्त मिसनमा को–को भागिदार भए ? को–कोले कान्तिपुरको बजेट प्राप्त गरे ? सबै छर्लङ्ङ हुन्छ ।

यसअघिको पनि पढ्नुहोस्–

अनुत्तरदायी पत्रकारितामार्फत् झुठ र भ्रमको खेती
https://ghatanarabichar.com/109731